हेटौंडा । किर्ते नागरिकता प्रमाणपत्र बनाउनुका साथै झुटा विवरण पेस गरी जग्गा नामसारी गरेको कसुरमा जिल्ला अदालत मकवानपुरले मकवानपुरको बकैया गाउँपालिकाका एक वडा अध्यक्षसहित ७ जनालाई दोषी ठहर गर्दै २ वर्षदेखि ८ वर्षसम्म कैद सजायको फैसला गरेको छ । जिल्ला न्यायाधीश पूर्णिमा कोइरालाको एकल इजलासले बकैया गाउँपालिका ४ का वडा अध्यक्ष राजन दंगाल, वडासचिव अनिशा श्रेष्ठ, सोमबहादुर न्यासुर, सानुमान थिङ र जमानसिंह भ्लोनलाई जनही दुई वर्ष कैद र २० हजार जरिवानाको फैसला गरेको हो ।
अदालतले बकैया गाउँपालिका ४ कै पूर्णबहादुर भ्लोन र रामबहादुर न्यासुरलाई ८ वर्ष कैद र एक लाख ३० हजार रुपैयाँ जरिवाना गर्ने फैसला गरेको छ । जिल्ला अदालत मकवानपुरका सूचना अधिकारी केशवप्रसाद कौशिकका अनुसार नागरिकता सम्बन्धी कसुरतर्फ ५ वर्ष कैद र एक लाख जरिवाना तथा पञ्जीकरण सम्बन्धी कसुरतर्फ ३ वर्ष कैद र ३० हजार जरिवाना तोकेको हो । कौशकका अनुसार पूर्णबहादुर भ्लोनले आफ्नो वास्तविक आमाको नाम लुकाई उमादेवी गुरुङलाई आमा उल्लेख गर्दै वडा कार्यालयमा सिफारिस माग गरेका थिए ।
सोही मागका आधारमा वडा कार्यालयले २०८० मंसिर १८ गते सर्जमिन मुचुल्का तयार गरेको थियो । उक्त सर्जमिनमा रामबहादुर न्यासुरलगायत व्यक्तिहरूले पूर्णबहादुरकी आमा उमादेवी नै भएको भनी झुटो विवरण प्रमाणित गरिएको थियो । सर्जमिनको आधारमा वडा कार्यालयले पूर्णबहादुरकी आमा उमादेवी भएको सिफारिस जारी गरेको र त्यसै सिफारिसका आधारमा उमादेवीको नाममा रहेको जग्गा पूर्णबहादुरको नाममा नामसारी गरिएको अदालतले जनाएको छ । तर मुद्दाको सुनुवाइका क्रममा प्रस्तुत प्रमाण, बयान र कागजातका आधारमा पूर्णबहादुरकी वास्तविक आमा कान्छीमाया भ्लोन रहेको ठहर अदालतले गरेको छ ।
अदालतबाट दोषी ठहर भई कैद सजाय तोकिएका वडा अध्यक्ष राजन दंगाल, पूर्णबहादुर भ्लोन, रामबहादुर न्यासुर र जमानसिंह भ्लोन हाल पुर्पक्षका लागि भीमफेदी कारागारमा रहेका छन् । अन्य दोषी ठहर व्यक्तिहरूलाई पनि फैसला अनुसार सजाय कार्यान्वयन प्रक्रिया अघि बढाइएको जिल्ला अदालत मकवानपुरका सूचना अधिकारी केशवप्रसाद कौशिकले जानकारी दिए ।















