हेटौँडा । जेनजी आन्दोलनका बेला केन्द्रीय कारागारबाट भागेका कैदीले बिक्री गरेको मोटरसाइकलसहित मकवानपुर प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा हेटौँडा उपमहानगरपालिका वडा नम्वर १५, बस्ने २१ वर्षीय अभिषेक वाईबा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक बोगटीका अनुसार, मंसिर ११ गते हेटौँडा उपमहानगरपालिका–७ हरियालीस्थित सडकखण्डमा तैनाथ प्रहरी टोलीले शंका लागेर बा ४० प ४२९५ नम्बरको मोटरसाइकल रोकेर जाँच गर्दा चालकले कुनै कागजपत्र पेश गर्न नसकेपछि निजलाई नियन्त्रणमा लिइएको थियो। कार्यालयमा थप अनुसन्धान गर्दा उक्त मोटरसाइकल २६ वर्षीय राजेश खातीले बिक्री गरेको खुल्न आएको छ ।
राजेश खाती गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागार सुन्धराबाट भागेर फरार भएका थिए । खातीलाई पछिल्लो समयमा पुनः पक्राउ गरिएसँगै उनी हाल कारागार मै रहेका प्रहरीले पुष्टि गरेको छ।
पक्राउ परेका युवक, मोटरसाइकलको स्वामित्व तथा बिक्री–खरिद प्रक्रिया सम्बन्धमा प्रहरीले थप अनुसन्धान जारी राखेको जनाएको छ।















