हेटौँडा । जनप्रिय माध्यमिक विद्यालयको ५० औँ वर्ष पूरा गरेको अवसरमा आयोजित हाजिरीजवाफ प्रतियोगितामा तुलसीमेहर मेमोरियल मावि प्रथम भएको छ ।
स्वर्ण महोत्सव कार्यक्रमअन्तर्गत स्व. मोहनचन्द्र चौलागाईँ स्मृति रनिङ्शिल्ड हाजिरीजवाफ प्रतियोगितामा जनप्रिय माविको आयोजना र रेडक्रस हटिया उपशाखाको प्रायोजनमा सञ्चालन भएको हो ।
कार्यक्रममा तुलसीमेहर मेमोरियल माविका दीप्ती क्षेत्री र रेमिन्स ढुङ्गाना, हेटौँडा एकेडेमीका आध्या भट्टराई र ज्वनिस्मा बिडारी तथा ज्योति माविका प्रतिष्ठा श्रेष्ठ र रोहित घर्ति मगरको टोली क्रमशः प्रथम, द्वितीय र तृतीय भएका हुन् ।
हेटौँडा उपमहानगरपालिकाका कूल १४ विद्यालय सहभागी प्रतियोगितालाई बहुवैकल्पिक प्रश्नोत्तर परीक्षा र सामुहिक परीक्षणगरी २ चरणमा आयोजना गरिएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहनप्रसाद बस्ताकोटी सभाध्यक्षतामा आयोजित कार्यक्रममा हेटौँडा १६ का अध्यक्ष रामकृष्ण कोइरालाको प्रमुख आतिथ्य रहेको थियो । जनप्रिय मावि अङ्ग्रेजी माध्यम संयोजक रविन श्रेष्ठले संयोजन गरेका हाजिरीजवाफ प्रतियोगितामा स्व.मोहनचन्द्र चौलागाईँका परिवार, रेडक्रसमा आबद्ध प्रतिनिधि, शिक्षक, विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

विद्यालयभित्र माध्यमिकस्तरीय कविता, रक्तदान कार्यक्रम, विविध खेलकूद प्रतियोगिताहरू आयोजना गरिएकोमा विद्यालयको गरिमालाई अझ उजागर गर्न नगरस्तरीय तथा जिल्लास्तरीय प्रतियोगिताहरूमा समेत विद्यालयले जोड दिँदै गइरहेको संयोजक श्रेष्ठले बताए ।
स्वर्ण महोत्सवको अवसरमा जनप्रिय माविले अक्षयकोष स्थापनाका क्रममा ३० लाख रुपैयाँ बराबरको कोष तयार गर्दैछ भने विद्यालय हाताभित्र स्तम्भ निर्माण गरिएको र जनप्रिय स्मारिका भोल्युम २ प्रकाशनार्थ रहेको प्रअ भुपेन्द्र चौलागाईँले जानकारी दिए ।















