हेटौँडा । तामाङ समुदायको मौलिक कथा, संस्कृति र जीवनशैलीलाई केन्द्रमा राखेर निर्माण गरिएको चलचित्र ‘ह्याङ तामाङ’ आगामी मङ्सिर २० गते हेटौँडाको ओम्याक्स हलमा विशेष प्रिमियरसहित प्रदर्शन हुने भएको छ ।
शुक्रबार हेटौँडामा आयोजित पत्रकार सम्मेलनमार्फत् निर्माण टोलीले चलचित्र प्रदर्शनका सबै तयारी पूरा भएको जानकारी गराएको हो । कार्यक्रममा चलचित्रका नायक सिताराम गोलेले ‘ह्याङ तामाङ’ले तामाङ समुदायको रितिरिवाज, भाषा, कला तथा पछिल्ला वर्षमा समुदायले भोग्दै आएको सामाजिक तथा राजनीतिक यथार्थलाई समेटेको जानकारी दिए ।
उनका अनुसार चलचित्रले तामाङ समाजको आत्मा, पहिचान र भावनालाई गहिरोसँग अभिव्यक्त गर्ने लक्ष्य राखिएको छ ।
चलचित्रका अर्का नायक जय स्याङ्तानले चलचित्रको छायांकन काठमाडौं, मनाङलगायतका विभिन्न भौगोलिक तथा सांस्कृतिक स्थानमा गरिएको बताए । विभिन्न स्थानमा गरिएको छायांकनले तामाङ समुदायको जीवनशैलीलाई अझ प्रामाणिक रूपमा प्रस्तुत गर्न सफल भएको उनको भनाई छ ।
चलचित्रको निर्देशन निमा लामाले गरेका छन् । निर्माण पक्षका अनुसार, चलचित्र निर्माण खर्च ३० देखि ३५ लाख रुपैयाँको हाराहारीमा परेको छ । चलचित्रमा अभि लामा, अनिता गोले, निर्मला मोक्तानलगायतका ख्यातिप्राप्त कलाकारहरूको भूमिका रहेको छ ।
पत्रकार सम्मेलनमा टोलीले हेटौँडामा हुने विशेष प्रदर्शनपछि चलचित्रलाई बागमती प्रदेशका अन्य जिल्लामा क्रमिक रूपमा सार्वजनिक गर्दै लैजाने योजना रहेको जानकारी दिएको छ ।
















