हेटौंडामा मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रीको मृत्यु

हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगर–४ कर्रा चोकमा मोटरसाइकलले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ। बिहीबार साँझ करिब ६:३० बजे पूर्व–पश्चिम राजमार्गमा पशुपतिनगरबाट हेटौंडा बजारतर्फ आउँदै गरेको ना ३८ प ५८५० नम्बरको मोटरसाइकलले पैदल यात्री ५५ वर्षीय खुइली डोमलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।

प्रहरीका अनुसार घाइते अवस्थामा ६:४२ बजे हेटौंडा अस्पताल पुर्याइएकी डोमको चिकित्सकले ६:५० बजे उपचारका क्रममा उनको मृत्यु भएको घोषणा गरेका हुन् । मृतक डोम मूलघर पर्सा, वीरगञ्ज महानगरपालिका–१६ नागुवा भए पनि हाल हेटौंडा उपमहानगरपालिका–१० कर्रामा डेरा गरी बस्दै आएकी थिइन्।

दुर्घटनामा संलग्न मोटरसाइकल र बारा, सिम्रौनगढ नगरपालिका–११ का २५ वर्षीय चालक सुनिल ठाकुरलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको बताइएको छ । लास पोष्टमार्टम तथा अन्य प्रक्रिया पूरा गर्न हेटौंडा अस्पतालमै राखिएको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.