हेटौंडा । बालमैत्री घोषणा भईसकेको हेटौंडा उपमहानगरपालिकाको विभिन्न वडाबाट ५ जना बालश्रमिकको उद्दार गरिएको छ । अनुगमनका क्रममा मोटरसाइकल वर्कशप, होटल, क्याण्डी उत्पादन कम्पनी र फर्निचर उद्योगमा बालश्रमिकको प्रयोग भईरहेको पाइएपछि उनीहरुको उद्दार गरिएको हो ।
हेटौंडाको २, ४, ११ र १९ नम्बर वडामा रहेका मोटरसाइकल वर्कशप, होटल, क्याण्डी उत्पादन कम्पनीलगायतमा अनुगमन गरिएको सिविन बालहेल्पलाइन मकवानपुरका संयोजक झविन्द्र ज्ञवालीले जानकारी दिए । अनुगमनका क्रममा हेटौंडा–११ मा रहेको अब्दुल्लाह बडी विल्डर वर्कशपमा ७ महिनादेखि कार्यरत १५ वर्षीय बालक, हेटौंडा–४ स्थित समिर मोटरसाइकल वर्कशपमा एक वर्षदेखि कार्यरत १२ र १५ वर्षीय बालक, हेटौंडा–११ मा रहेको उद्योगबाट उत्पादित कटन क्याण्डी हेटौंडा–४ बाट बेच्दै गरेको अवस्थामा १० वर्षीय बालकलाई उद्दार गरिएको हो ।
यस्तै हेटौंडा–२ कांग्रेसचोकमा रहेको केशरी फर्निचरबाट अन्दाजी १५ वर्षीय बालकलाई उद्दार गरेर श्रम कार्यालय पठाएको कार्यालय प्रमुख रुद्रनारायण शाहले जानकारी दिए । श्रम कार्यालयका प्रमुख शाहका अनुसार बालश्रममा लगाउने रोजगारदाताहरुलाई १ लाख ७० हजार जरिवाना र २२ हजार रुपैयाँ क्षतिपूर्ति तिराइएको छ । कटन क्याण्डी उत्पादकलाई ५० हजार, समिर वर्कशपलाई ५० हजार, अब्दुल्लाह वर्कशपलाई २० हजार र केशरी फर्निचरलाई ५० हजार जरिवाना गराइएको छ ।
श्रम कार्यालयले बालबालिकाको उमेर समूह अनुसार जरिवाना गराउने गरेको छ । बालबालिकाले काम गरेवापत मासिक ३२ हजारका दरले क्षतिपूर्ति दिनुपर्ने प्रावधान रहेको छ । अनुगमन टोलीले ६ वटा ग्यारेज, ३ वटा होटल र एक किराना पसलमा अनुगमन गरिएको थियो । अनुगमनमा श्रम तथा रोजगार कार्यालयका शर्मिला राई, हेटौंडा उपमहानगरपालिका बाल कल्याण अधिकृत बिना थिङ, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि दीपककुमार पौडेलसहित नेपाल प्रहरी, बाल हेल्पलाइनलगायतका सरोकारवाला संघसंस्थाका प्रमुख प्रतिनिधिको उपस्थिती थियो ।

















