हेटौँडा । बागमती प्रदेश सरकारले बुधबारको मन्त्रिपरिषद् बैठकमा एक सचिवको नियुक्ति र दुई कर्मचारीको सरुवा गरेको छ।
संघीय सरकारबाट सरुवा भई आएका सहसचिव रामबाबु पुरीलाई श्रम, रोजगार तथा यातायात मन्त्रालयको सचिवमा पदस्थापन गरिएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत नारायण कुमार श्रेष्ठ र सुधीर श्रेष्ठलाई हेटौँडा कृषि विकास निर्देशनालय र भण्डारा तालिम केन्द्रमा सरुवा गरिएको छ।
बैठकले शिक्षा विकास निर्देशनालयको महानिर्देशकमा उपसचिव गोपाल कँडेललाई कायम मुकायम प्रमुखको जिम्मेवारी दिएका छन्। साथै, मुख्यमन्त्री कार्यालयको सिफारिसमा उपसचिव इन्जिनियर घनश्याम कार्कीलाई ११ औँ तहको सचिवमा नियुक्त गर्ने निर्णय पनि गरिएको छ।
बैठकले प्रदेश आयोजनाको बहुवर्षीय ठेक्का सहमतिसम्बन्धी मापदण्ड स्वीकृत गरेको छ र सशस्त्र प्रहरी तथा नेपाल प्रहरीको आवासीय भवन निर्माण र संरचना सुधारका लागि सम्बन्धित निकायलाई अख्तियारी प्रदान गर्ने निर्णय पनि गरेको छ।















