मकवानपुरगढीको शारदा माविको स्वर्ण महोत्सव मनाइने, ५८ वटा कार्यक्रम गर्ने

हेटौँडा । मकवानपुरगढी गाउँपालिका–५, धादिङस्थित शारदा माध्यमिक विद्यालयले आफ्नो स्थापना भएको ५० वर्ष पूरा भएको अवसरमा स्वर्ण महोत्सव भव्य रूपमा मनाउने भएको छ । विद्यालयले स्वर्ण महोत्सवका अवसरमा एक साता लामो ५८ वटा विविध कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।

शनिबार हेटौँडामा पत्रकार सम्मेलनमार्फत् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष युवराज सापकोटाले कार्यक्रमहरूको विस्तृत विवरण सार्वजनिक गरे । उनका अनुसार, विद्यालयले जिल्लास्तर, गाउँपालिका स्तर तथा विद्यालय स्तरका विभिन्न प्रतियोगिता र सामाजिक कार्यक्रममार्फत यो ऐतिहासिक अवसरलाई उत्सवका रूपमा मनाउने तयारी गरेको छ ।

स्वर्ण महोत्सवका प्रमुख कार्यक्रमहरूमा जिल्ला स्तरीय शिक्षक भलिबल प्रतियोगिता, जिल्ला स्तरीय शिक्षक चेस प्रतियोगिता, मकवानपुरगढी गाउँपालिका स्तरीय खुल्ला चेस प्रतियोगिता, भूतपूर्व विद्यार्थी मित्रता मिलन कार्यक्रम, विज्ञान प्रदर्शनी, रक्तदान तथा निःशुल्क स्वास्थ्य परीक्षण शिविर, विद्यालय वृत्तचित्र प्रदर्शन, सांस्कृतिक कार्यक्रम, शिलालेख लेखन र सम्झना पर्खाल प्रदर्शन, विद्यालय गान निर्माण, अक्षयकोष छात्रवृत्ति वितरण, विद्यालय स्मृति चिन्ह र स्वर्ण जयन्ती शिलापट्ट अनावरण, अभिभावक लोकदोहोरी प्रतियोगिता, शिक्षक हाजिरी जबाफ प्रतियोगिता लगायतका कार्यक्रम समावेश गरिएका छन् ।

विद्यालयका प्रधानाध्यापक इन्द्रबहादुर कार्कीका अनुसार, “स्वर्ण महोत्सव केवल औपचारिकता होइन, विद्यालय, समुदाय र भूतपूर्व विद्यार्थीबीचको सम्बन्धलाई अझ गाढा बनाउने उत्सव हो,” भन्दै विद्यालयको ऐतिहासिक यात्रा र उपलब्धिहरूलाई प्रस्तुत गर्ने लक्ष्य रहेको बताए ।

कार्यक्रमलाई सफल बनाउन स्थानीय सरोकारवाला, अभिभावक, पूर्वविद्यार्थी र समुदायको सक्रिय सहभागिता रहने विद्यालयले जनाएको छ । विद्यालयले यसअघि देउसी–भैलो कार्यक्रम दुई दिनसम्म सञ्चालन गरी करिब १३ लाख रुपैयाँ संकलन गरेको थियो ।

उक्त रकम स्वर्ण महोत्सवका तयारीका साथै विद्यालयको विद्यार्थी छात्रवृत्ति अक्षयकोषमा खर्च गरिने मकवानपुरगढी गाउँपालिका–५ का वडा अध्यक्ष दिपेश दाहालले जानकारी दिए ।

विद्यालयका अनुसार, पाँच दशकको इतिहास बोकेको शारदा माविले मकवानपुरगढी क्षेत्रको शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएको छ र स्वर्ण महोत्सवले विद्यालयको आगामी यात्रालाई अझ सशक्त बनाउने विश्वास लिइएको छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.