मकवानपुर । यात्रुहरुलाई जबरजस्ती झोला तानेर सवारी साधनमा चढाउने तथा अनावश्यक दुःख हैरानी दिने कार्यमा संलग्न चार जना व्यक्तिहरु प्रहरीले नियन्त्रणमा लिएको छ।
आज बिहीबार बिहान करिब ७:४५ बजेको समयमा हेटौंडा उपमहानगरपालिका–१० स्थित बसपार्क क्षेत्रमा यात्रुहरुमाथि बलपूर्वक झोला तथा हात तानी, इच्छा विपरीत सवारी साधनमा चढाउने कार्य गर्दै आएका चार जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
नियन्त्रणमा परेकाहरुमा बारा जिल्लाको कोल्वी नगरपालिका–२ का २३ वर्षीय रोहन कुमार भुजेल, हेटौंडा–१० का १९ वर्षीय सुरज कुमार, हेटौंडा–१ का ३० वर्षीय सुशान्त तामाङ र हेटौंडा–११ का ३५ वर्षीय जीवन थोकर रहेका छन्।
उनीहरुलाई बसपार्क प्रहरी चौकीबाट खटिएको टोलीले नियन्त्रणमा लिई अभद्र व्यवहार गरेको अभियोगमा आवश्यक कारबाही अघि बढाइएको जिल्ला प्रहरीले जनाएको छ।















