मकवानपुर । भदौ २४ गते राति मकवानपुरको भीमफेदी क्षेत्रीय कारागारको पर्खाल भत्काएर भागेका २६ विदेशी कैदी अझै फरार रहेका छन्। राति करिब १ बजे कैदीहरूले तीनवटा गेट फुटाई पश्चिमतर्फको पर्खाल भत्काएर फरार भएका थिए।
उक्त घटनामा ३९ जना विदेशी कैदीसहित कुल ४४० कैदीबन्दी भागेका थिए। तीमध्ये १३ जना विदेशीसहित २८६ जना हालसम्म कारागार फर्किसकेका छन् भने बाँकी १५४ जना अझै फेला परेका छैनन्।
फरार कैदीबन्दीमध्ये विभिन्न स्थानमा पक्राउ परेका केहीलाई फर्काइए पनि २६ जना विदेशी कैदी अझै सम्पर्कविहीन रहेको कारागार प्रमुख सुवास पौडेलले जानकारी दिए । उनका अनुसार, अन्य विभिन्न कारागारबाट पनि फरार भएका ७१ जना कैदीमध्ये ३५ जनालाई स्थानान्तरण गरिएको, एकजनालाई थुनामुक्त गरिएको र ३५ जना हाल भीमफेदी कारागारमै रहेका छन् ।
फरार कैदीबन्दीको खोजीकार्य तीब्र पारिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । उनका अनुसार, सीमा नाकासम्म निगरानी बढाइएको र फरार कैदीको सम्भावित ठेगानामा खोजी जारी छ।















