हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट भागेका १५७ कैदीबन्दी अझै फरार रहेका छन् । २६ विदेशीसहित १५७ कैदीबन्दी अझै फरार रहेको क्षेत्रीय कारागार कार्यालय भीमफेदीले जनाएको छ ।
फरार रहेकामध्ये सबैभन्दा बढी लागूऔषध मुद्दाका ६० जना रहेका छन् । तीमध्ये १५ जना विदेशी रहेका छन् । जबर्जस्ती करणी मुद्दाका ३२ जना, कर्तव्य ज्यान मुद्दाका ११ जना, डाँका मुद्दाका ६ जना, चोरीको ५ जना, अपहरण तथा शरीर बन्धक र किर्ते मुद्दाका ३÷३ जना, सवारी ज्यान मुद्दाका २ जना तथा खुन डाँका, जिउ मास्ने बेच्ने, ठगी, वैदेशिक रोजगारी र राजश्व छली मुद्दाका समान एक एक जना फरार रहेको भीमफेदी कारागार कार्यालयले जनाएको छ ।
फरार रहेका विदेशी कैदीबन्दीमा लागूऔषध मुद्दाका १५ जनासहित जबर्जस्ती करणी र डाँका मुद्दाका ३÷३ जना, कर्तव्य ज्यान मुद्दाका २ जना र जिउ मास्ने बेच्ने, सवारी ज्यान र हातहतियार खरखजाना मुद्दाका समान एक एक जना रहेका छन् । कारागार कार्यालय, जिल्ला प्रहरी कार्यालय, प्रशासन कार्यालय लगायतले जेनजी आन्दोलनका क्रममा भागेका कैदीबन्दीलाई सम्पर्कमा आउन अनुरोध गरेपनि १५७ जना अझै फरार नै रहेको पाइएको हो ।
फरार रहेका कैदीबन्दीहरुलाई सम्पर्कमा आउन अनुरोध गर्दै सम्पर्कमा नआए कारागार ऐन २०७९ र अन्य प्रचलित कानून बमोजिम थप कारबाही हुने चेतावनी समेत दिइएको थियो । कारागार कार्यालय भीमफेदीले फरार कैदीबन्दीलाई लुकाउने छिपाउने तथा आश्रय दिनेलाई समेत कसुरदार ठानी प्रचलित कानून बमोजिम कारबाही गर्ने चेतावनी दिँदै आएको छ ।















