१९ गतेबाट हेटौंडामा एन्फा प्रेसिडेण्ट लिग हुने

हेटौंडा । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा यही कात्तिक १९ गतेबाट हेटौंडामा एन्फा प्रेसिडेण्ट लिग फुटबल प्रतियोगिता हुने भएको छ । ७ वटा प्रदेशका १० वटा क्लवको बीचमा एन्फा प्रेसिडेण्ट लिग फुटबल प्रतियोगिता हुने भएको हो ।

मकवानपुर जिल्ला फुटबल संघको समन्वयमा हुन लागेको प्रतियोगिताको तयारी तीव्र पारिएको छ । खेल हेटौैंडा ६ स्थित गौरिटार रंगशालामा आयोजना हुनेछ । सातवटै प्रदेशको लिग च्याम्पियन क्लवसहित १० क्लवले एन्फा प्रेसिडेण्ट लिग फुटबल प्रतियोगितामा सहभागिता जनाउनेछन् । एन्फाले केही दिन अघि खेल तालिका समेत सार्वजनिक गरिसकेको छ ।

प्रतियोगितामा जनजागृति युवा क्लव, चित्लाङ एफसी, विजय स्पोर्टस् क्लव, लालिगुराँस एशोसिएसन क्लव, देउराली युथ क्लव, नवजागृति क्लव, हाइरान्स क्लव, टाइगर्स टिम, गाइघाट एफसी र कांक्रेबिहार युथ क्लवको सहभागिता रहनेछ । प्रतियोगिताको तयारीलाई तीव्र पारिएको मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष समेत रहेका एन्फा केन्द्रीय सदस्य टीकाराम लामाले जानकारी दिए ।

‘एन्फाको आयोजनामा हुन लागेको प्रेसिडेण्ट कप फुटबल प्रतियोगिताको आतिथ्यता गर्ने मौका हाम्रो मकवानपुर जिल्ला फुटबल संघले पाएको छ’, लामाले भने, ‘यो जिम्मेवारीलाई सफलतापूर्वक सम्पन्न गराउनका लागि हाम्रो टिम लागिपरेको छ । चौर मर्मतदेखि प्रचारप्रसार लगायतका काम गरिरहेका छौं ।’

एन्फाका अनुसार प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै सर्वोत्कृष्ट खेलाडीले ५० हजार तथा अन्य विधागत उत्कृष्टले जनही २५ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । हरेक खेलको म्यान अफ द म्याचले नगद ५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्ने आयोजकले जनाएको छ । मंसिर २ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको तयारीका लागि १० वटै क्लवलाई ७ लाख ५० हजार रुपैयाँ प्रदान गरिएको छ ।

मकवानपुर जिल्ला फुटबल संघले यस प्रतियोगिता सम्पन्न गराउनका लागि योजनाबद्ध काम गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.