एभिन्युज टेलिभिजनले करिब एक वर्षदेखि संवाददाताको पारिश्रमिक रोकेको भन्दै स्वतन्त्र पत्रकार संघले दियो अल्टिमेटम

हेटौँडा । एभिन्युज टेलिभिजनले आफ्ना मकवानपुर जिल्ला संवाददाता प्रमोद राज साहनीलाई करिब एक वर्षदेखि पारिश्रमिक भुक्तानी नगरेको भन्दै स्वतन्त्र पत्रकार संघ मकवानपुरले आपत्ति जनाएको छ। संघले शुक्रबार जारी गरेको विज्ञप्तिमा उक्त टेलिभिजनलाई एक महिनाभित्र सम्पूर्ण बक्यौता पारिश्रमिक भुक्तानी गर्न अल्टिमेटम दिएको छ।

संघका सचिव बसन्त भण्डारीले जारी गरेको विज्ञप्ति अनुसार, पत्रकार साहनीले बारम्बार मानव संसाधन विभाग र कार्यकारी प्रमुखलाई पारिश्रमिक भुक्तानीको लागि अनुरोध गर्दा संस्थाले “प्रक्रियामा छ” र “केही दिनमा हुन्छ” जस्ता अस्पष्ट आश्वासन मात्र दिँदै आएको छ।

विशेष गरी कानुनी हक माग गरेको कारण पत्रकार साहनीलाई संस्थाको आधिकारिक सञ्चार समूहबाट हटाइएको संघले उल्लेख गरेको छ। संघले यसलाई श्रम कानुनको स्पष्ट उल्लंघन र पत्रकारीय स्वतन्त्रतामाथिको आक्रमण भनी चिन्ह लगाएको छ।

संघले एभिन्युज टेलिभिजनले नेपालको संविधानको धारा ३४, श्रम ऐन २०७४ को दफा १०५ र श्रमजीवी पत्रकार ऐनमा व्यवस्था भएका प्रावधानहरूको उल्लंघन गरेको आरोप लगाएको छ। यी कानुनी प्रावधानहरूले पत्रकारहरूको श्रम अधिकार, न्यूनतम पारिश्रमिक र सेवा सुरक्षाको प्रत्याभूति गरेका छन्।

संघले यदि तोकिएको अवधिभित्र पारिश्रमिक भुक्तानी नभएमा श्रम तथा रोजगार कार्यालय, मानव अधिकार आयोग र सम्बन्धित अदालतमा उजुरी दर्ता गर्ने चेतावनी दिएको छ।

विज्ञप्तिमा नेपाल पत्रकार महासंघ, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, श्रम तथा रोजगार कार्यालय र मानव अधिकार आयोगलाई यस घटनाको तत्काल छानबिन गरी कानुन बमोजिम कारबाहीको प्रक्रिया अघि बढाउन औपचारिक अनुरोध गरिएको छ।

संघले सबै सञ्चार गृहहरूलाई श्रम ऐन र श्रमजीवी पत्रकार ऐनको कडाइका साथ पालना गर्न र पत्रकारहरूको श्रम अधिकार, पेशागत सम्मान र आत्मसम्मानको संरक्षण गर्न कानुनी दायित्वको स्मरण गराएको छ।

संघले पत्रकारको श्रम अधिकार उल्लंघन गर्ने संस्थाविरुद्ध सार्वजनिक अभियान, कानुनी कारबाही र संगठित आन्दोलन सञ्चालन गर्ने चेतावनी दिँदै त्यस्ता संस्थाहरूलाई ब्ल्याकलिस्ट गर्ने र पत्रकारहरूलाई त्यहाँ काम नगर्न आह्वान गर्ने बताएको छ।

“पत्रकारिता लोकतन्त्रको स्तम्भ हो र पत्रकारको श्रम अधिकारको संरक्षण नै पत्रकार स्वतन्त्रताको संरक्षण हो,” विज्ञप्तिमा भनिएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.