संघीय मामिला मन्त्रालयको निर्देशन — “कार्यस्थलमा उपस्थित रहनुहोस्”

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी केही दिनसम्म देशका विभिन्न भागमा लगातार वर्षा हुने चेतावनी जारी गरेपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै कार्यालय प्रमुखहरूलाई कार्यस्थलमा अनिवार्य रूपमा उपस्थित रहन निर्देशन दिएको छ।

मन्त्रालयले शुक्रबार जारी गरेको अत्यन्त जरुरी सूचनामा असोज १७ देखि २० गतेसम्म देशका विभिन्न भू–भागमा मध्यमदेखि भारी वर्षा हुने सम्भावना रहेकाले सतर्क रहन र आवश्यक पूर्वतयारी मिलाउन आग्रह गरिएको छ।

सूचनामा भनिएको छ, “आ–आफ्नो मन्त्रालय अन्तर्गतका जिल्लास्थित कार्यालय प्रमुखहरूले असोज १८ गतेभित्र अनिवार्य रूपमा कार्यस्थल पुग्ने व्यवस्था मिलाउन अनुरोध गरिन्छ।”

सरकारले विपद् जोखिम न्यूनीकरण र प्रतिकार्यका तयारीका लागि कार्यालय प्रमुखहरूलाई कार्यस्थलमै उपस्थित भई आवश्यक समन्वय र उद्धार तयारीमा जुट्न निर्देशन दिएको हो।

मन्त्रालयले यो सूचना प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त निर्देशनका आधारमा जारी गरेको जनाएको छ। मन्त्रालयका उपसचिव भुवनेश्वर लामिछानेद्वारा हस्ताक्षरित सूचनामा सबै जिल्ला समन्वय अधिकारी (सीडीओ) र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूलाई पनि सो निर्देशन पालना हुने व्यवस्था गर्न अनुरोध गरिएको छ।

मन्त्रालयले जोखिमयुक्त क्षेत्रका नागरिकलाई आवश्यक सतर्कता अपनाउन, सम्भावित विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहन र स्थानीय विपद् व्यवस्थापन समितिहरूलाई सक्रिय राख्न समेत सबै निकायलाई आह्वान गरेको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.