हेटौँडामा हैजा आशंका गरिएका बिरामीमा “एरोमोनस” संक्रमण पुष्टि

हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिकामा केही दिनअघि हैजाको आशंका गरिएका तीन जना बिरामीमा एरोमोनस संक्रमण पुष्टि भएको छ । परीक्षणका क्रममा उनीहरूमा ‘एरोमोनस’ नामक ब्याक्टेरियाबाट हुने संक्रमण पुष्टि भएको हेटौँडा अस्पतालकी एमडी माइक्रोबायोलोजिस्ट डा. शान्ति प्रधानले जानकारी दिइन् ।

उनका अनुसार, हेटौँडा–१३ पदमपोखरीका एकै परिवारका दुई पुरुष र हेटौँडा–९ की एक महिलामा गत भदौं २८ गतेदेखि झाडापखाला, बान्ता, ज्वरो र शरीरमा पानीको कमी जस्ता लक्षण देखिएका थिए । प्रारम्भिक रयापिड डाइग्नोस्टिक टेस्ट आरडीटी) मा हैजा पोजेटिभ देखिएपछि उनीहरूलाई हेटौंडा अस्पतालमा भर्ना गरिएको थियो ।

तर, थप परीक्षणका लागि चितवन र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं पठाइएका नमूनाको रिपोर्टमा हैजाको संक्रमण नभई उनीहरुमा एरोमोनस संक्रमण पुष्टि भएको डा. प्रधानले बताइन् ।

दिसाको कल्चर परीक्षणमा हैजासँग मिल्दाजुल्दा जीवाणु देखिएपछि थप पुष्टि गर्न पठाइएको नमूनाबाट एरोमोनस संक्रमण प्रमाणित भएको उनले बताइन् । उपचारपछि तीनै जना बिरामीको अवस्था सामान्य रहेको र उनीहरू घर फर्किसकेको जनाइएको छ ।

यो ब्याक्टेरिया सामान्यतया नदी, ताल, पोखरी जस्ता पानीका स्रोतहरूमा पाइन्छ । दूषित पानी वा खाना सेवन गर्दा यो संक्रमण हुने गर्दछ । यस संक्रमणमा पनि झाडापखाला, पेट दुख्ने, ज्वरो आउने, बान्ता हुने र टाउको दुख्नेलगायतका लक्षण देखिन्छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.