हेटौँडा । बागमती प्रदेशको बिहीबार बसेको सर्वदलीय बैठक विभिन्न निर्णय गरेको छ । मुख्यमन्त्री तथा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँको अध्यक्षतामा बसेको बैठकले सुशासन प्रवद्र्धन र सरकारी खर्च कटौतीलाई उच्च प्राथमिकता दिनेलगायतका निर्णय गरेको छ ।
बैठकले हालै भएको ‘जेनजी’ अभियानका क्रममा भएका घटनाहरूप्रति पनि गम्भीरतापूर्वक छलफल गरेको छ । आन्दोलनका क्रममा प्रदेशभित्र प्रदेश सरकार मातहतका सरकारी संरचना, स्थानीय तहका कार्यालय तथा सर्वसाधारणका निजी एवम् व्यावसायिक प्रतिष्ठानमा भएको क्षतिको यथार्थ विवरण सङ्कलन गर्ने र क्षतिको मूल्याङ्कन गरी आगामी कदम चालिने निर्णय गरेको बताइएको छ ।
यसैगरी, सर्वदलीय बैठकले प्रदेशसभाको बैठकलाई पनि यथाशीघ्र सञ्चालन गर्ने विषयमा दलहरूबिच सहमति जुटेको छ भने जेन–जी प्रदर्शनका क्रममा मृत्यु भएका नागरिकहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै मृतकका परिवारमा समवेदना प्रकट गरेको छ । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेको थियो ।
सर्वदलीय बैठकमा नेकपा एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया, नेकपा माओवादी संसदीय दलका नेता शालिकराम जमकट्टेल, नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता कृष्णप्रसाद शर्मा खनाल, नेकपा माओवादी संसदीय दलका प्रमुख सचेतक रत्न ढकाल र कृषि तथा पशुपन्छी मन्त्री मधुसुदन पौडेल लगायतको सहभागिता रहेको थियो ।















