‘ढुक्क भएर काम गर्नुस्’ : मनहरीका जनप्रतिनिधि र कर्मचारीलाई कांग्रेसको आश्वासन

मनहरी  । जेनजी आन्दोलनको क्रममा मनहरी गाउँपालिकामा भएको क्षतिको अवलोकन गर्दै नेपाली कांग्रेस मनहरी गाउँ समितिले आवश्यक सहयोग गर्ने प्रतिबद्धतासहित ढुक्क भएर काम गर्न जनप्रतिनिधि र कर्मचारीलाई आग्रह गरेको छ । सोमबार कांग्रेस मनहरीका सभापति प्रकाश बर्तौलाको नेतृत्वमा पालिकामा पुगेको टोलीले जेनजी आन्दोलनबाट भएको क्षतिको अवस्थाको जानकारीसहित अनुगमन गर्दै निर्धक्कसँग जनताको सेवा गर्न अनुरोध गरेको हो ।

‘जेनजी आन्दोलनका नाममा केहीले गाउँपालिकाको सम्पतिमा आगजनी र तोडफोड गर्ने कार्य गरेकोमा हाम्रो घोर भत्सर्ना रहेको छ । जेनजी आन्दोलनको कतिपय जायज मागको सम्बोधन गर्नुपर्छ तर आन्दोलनको नाममा भएको क्षतिप्रति घोर भत्सर्ना गर्दै दोषी माथि छानबिन र कारबाहीको माग समेत गर्दछौं’, कांग्रेस मनहरी सभापति बर्तौलाले भने ।

विषम परिस्थितीमा पनि जनप्रतिनिधि र कर्मचारीले जनतालाई सेवा पु¥याइरहेकोमा धन्यवाद ज्ञापन गर्दै उनले कांग्रेस सदैव जनताको साथमा रहेको र जनतालाई सेवा दिने कुरामा सहयोग र सहकार्यका लागि तयार रहेको बताए । पालिकालाई पुरानै अवस्थामा फर्काउन आवश्यक साथ र सहयोग गर्ने समेत कांग्रेस सभापतिसहितका नेताहरुको प्रतिबद्धता रहेको थियो ।

गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले जेनजीको आन्दोलनपश्चात पनि जनताको सेवा निरन्तर दिइरहेको जानकारी गराउँदै युवासहित पालिकाबासीको चाहना बमोजिम अघि बढ्दै जाने बताए । जनप्रतिनिधि र कर्मचारीको हौसलासहित ढाडस बढाएकोमा कांग्रेस मनहरीप्रति उनले आभार समेत व्यक्त गरे । मनहरी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामचन्द्र दाहालले जेनजीको आन्दोलनले निःशुल्क वितरण हुने औषधिमा क्षति पुगेकोले औषधिको अभाव हुनसक्ने बताए ।

स्वास्थ्यमा प्रशासनिक भन्दा पनि सेवा बढी हुने भएकोले कुनै दिन पनि सेवा नरोकिएको उनले बताए । शिक्षा शाखा प्रमुख प्रदीप पराजुलीका अनुसार शिक्षा शाखाको आधा भन्दा बेसी फाइल जलेको छ । उनका अनुसार आइतबारबाट मनहरीका सबै विद्यालय सञ्चालनमा आइरसकेको छ । फर्निचरसहित अन्य अत्यावश्यक सामग्री जलेकोले काम गर्न कठिनाई भैरहेको छ ।

एकदुई दिनमा सेवा दिने गरी काम भैरहेको उनले बताए । सामाजिक विकास शाखा प्रमुख ज्ञानेन्द्र ढकालले लामिटारको टोल विकास संस्था र स्थानीयको सहयोगले थप क्षति हुनबाट जोगिनुका साथै सरसफाई अभियानमा समेत सहयोग मिलेको बताए । कार्यक्रममा कांग्रेस मनहरीका पदाधिकारीसहित वडा सभापति र नेताहरुको उपस्थिती रहेको थियो ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.