हेटौंडा । बागमती प्रदेशका प्रदेश प्रमुख दिपकप्रसाद देवकोटाले बालबालिकामाथि हुने दुर्व्यवहार र हिंसात्मक क्रियाकलाप रोक्न सबै एकजुट हुनुपर्ने बताएका छन् । आइतबार ६९ औँ राष्ट्रिय बाल दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै सो कुरामा जोड दिएका हुन् ।
प्रदेश प्रमुख देवकोटाले बालबालिकाको सुरक्षित र समृद्ध भविष्य निर्माण हाम्रो साझा जिम्मेवारी भएको उल्लेख गर्दै भने, “बालबालिकामाथि हुने जुनसुकै प्रकारका हिंसा, शोषण, दुर्व्यवहार र बालश्रमको अन्त्य गर्न सबैको हातेमालो आवश्यक छ ।”
यस वर्षको बाल दिवस “बालबालिकामा लगानी स् सुरक्षित भविष्यको थालनी” भन्ने नारासहित मनाइँदैछ । प्रदेश प्रमुखले बालबालिकाको चौतर्फी विकासका लागि गुणस्तरीय शिक्षा, स्वास्थ्य, पोषण र सुरक्षित वातावरण सुनिश्चित गर्नुपर्नेमा जोड दिए ।
बालबालिकाले खेलकुद, अध्ययन र आफ्नो सपना पूरा गर्ने अधिकार पाउने कुरामा स्पष्ट गर्दै उहाँले ती अधिकार पूरा गर्न राज्य, समाज र अभिभावक सबै जिम्मेवार हुने बताए । साथै उनले बालबालिकाको मुस्कानको रक्षा गर्दै उनीहरूको उज्ज्वल भविष्य निर्माणका लागि सम्पूर्ण पक्ष प्रतिबद्ध हुनुपर्ने धारणा व्यक्त गरे ।















