मकवानपुर । मकवानपुरको भीमफेदी कारागारबाट करिब २६० जना कैदीबन्दी फरार भएका छन् । कारागारका प्रमुख सुवास पौडेलका अनुसार, गएराति १२ः५५ बजेको समयमा कारागारको ‘क’ ब्लकमा रहेका कैदीहरुको समूहगत भीडले कारागारको पर्खाल भत्काएर भागेका हुन् ।
कैदीबन्दी भाग्न थालेपछि कारागारमा तनावको स्थिति सिर्जना भएको थियो । कारागारको पर्खाल तोडेर भाग्न खोज्ने क्रममा काली प्रसाद गणबाट खटिएको नेपाली सेनाले २०० बढी हवाई फायर गरेको थियो ।
सिसिटिभी फुटेजबाट घटनाबारे थाहा पाएलगत्तै नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त सुरक्षा टोलीले स्थिति नियन्त्रणमा लिने प्रयास गरेको उनले बताए । कैदीबन्दीहरूले होहल्ला र तोडफोड गरेका थिए ।
सो क्रममा कैदी र सुरक्षाकर्मीबीच झडप समेत भएको र स्थितिलाई नियन्त्रणमा लिन सेनाले २०० राउन्ड हवाई फायर र ७ राउन्ड अश्रुग्यास प्रहार गरेको कारागार प्रमुख पौडेलले बताए ।
सुरक्षा निकायसँगको भिडन्तमा २ जना कैदीबन्दी घाइते भएका छन् । उनीहरुको हेटौंडास्थित अस्पतालमा उपचार भइरहेको पौडेलले जानकारी दिए ।
भाग्ने प्रयासमा रहेका संलग्न अन्य कैदीहरूलाई भने सुरक्षाकर्मीले बिहान २ः३० बजेसम्ममा पूर्ण रूपमा नियन्त्रणमा लिएर सम्बन्धित ब्लकमा फिर्ता गरेको प्रमुख पौडेलले बताए ।
घटनापछि कारागारमा ठूलो क्षति पुगेको छ । झडपका क्रममा कैदीहरूले कारागार प्रशासनको कार्यालय भवन तथा आवासमा आगजनी र तोडफोड गरेका छन् । आगजनीबाट कार्यालयका महत्त्वपूर्ण अभिलेख, कम्प्युटर, फर्निचर लगायतका सामग्रीहरू पूर्ण रूपमा नष्ट भएको जनाइएको छ ।
साथै, प्रशासनको बा १ झ ३६३४ नम्बरको जिपमा पनि तोडफोड भएको छ । भीमफेदी कारागारमा हाल कुल १ हजार ३५ कैदीबन्दी रहेका थिए ।
घटनापछि कारागार परिसरमा थप सुरक्षाकर्मी परिचालन गरिएको र सुरक्षा कडाइ गरिएको उनको भनाई छ ।















