हेटौँडा । मकवानपुर प्रहरीले हेटौँडाबाट खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा हेटौंडा–१० का ३६ वर्षीय विकाश तामाङ र हेटौंडा–४ का ३४ वर्षीय अब्दुल मन्सुरी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक अर्यालका अनुसार, हिजो भदौ १७ गते साँझ करिब ८ बजेको समयमा हेटौँडा उपमहानगरपालिका–१० न्युरेनीस्थित विकाश तामाङको घरमा लागुऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी टोली खटिएको थियो।
प्रहरी पुगेपछि तलासी गर्दा उनीहरूको साथबाट खैरो हेरोइन ३ ग्राम ७०० मिलिग्राम लागूऔषध बरामद भएपछि निजहरुलाई पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ परेका उनीहरूलाई जिल्ला अदालत मकवानपुरमा उपस्थित गराई लागूऔषध सम्बन्धी कसुरमा म्याद अनुमती लिई थप अनुसन्धान कार्य भइरहेको जनाएको छ।















