कोही नभएका नागरिकको लागि प्रदेश सरकार छः स्वास्थ्यमन्त्री थापा

हेटौँडा । बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले आफ्ना कोही नभएका नागरिकको लागि प्रदेश सरकार भएको बताएका छन् । शनिबार आफ्नो जन्मदिनको अवसरमा हेटौँडाको मानव सेवा आश्रममा पुगेर उनले राज्य सबैको संरक्षक भएको बताए ।

‘जसको कोही छैन, त्यसको लागि हामी छौँ, प्रदेश सरकार छ, बागमती प्रदेश सरकारले त्यसको लागि व्यवस्थापन गर्दै छ’, उनले भने । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले यस वर्ष बजेट बनाउँदा आश्रममा आश्रित रहेकाको स्वास्थ्य बिमाको रकम सरकाले नै तिरिदिने व्यवस्था गरेको उनले जानकारी दिए ।

मानव सेवा आश्रमले मानवीय काम गरेको प्रशंसा गर्दै उनले धर्म गर्न मन्दिरमा गइरहनु नपर्ने बताउँदै सबैभन्दा ठुलो धर्म मानव सेवा भएको बताए । आश्रितहरूको खानपान, आवास, स्वास्थ्य, सरसफाइ जस्ता काम गरेर मानव सेवा आश्रमले ईश्वरीय काम गरेको उनको भनाई छ ।

उनले सेवा आश्रमलाई व्यवस्थित गर्नको लागि कम्तीमा सरकारको तर्फबाट खानाको व्यवस्थापनका लागि सेवा दिने दृढता व्यक्त गरे । साथै उनले मन्त्रिपरिषद् बैठकले सो विषयमा निर्णय गर्ने पनि बताए ।

मानव सेवा आश्रमका बिरामीलाई बागमतीको हेटौँडा अस्पतालले निःशुल्क उपचार गराउने थापाले जानकारी गराए । उनले हेटौँडा अस्पताल मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत सञ्चालन भएपछि स्वास्थ्य सेवामा व्यापक सुधार आएको पनि बताए ।

मन्त्री थापाले जन्मदिनको अवसरमा आश्रमका आश्रितलाई बिहानको खाना खुवाएका थिए ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.