मकवानपुरमा भलपानी र पहिरोले दुई मुख्य सडकखण्ड अवरुद्ध

मकवानपुर । निरन्तरको वर्षासँगै मकवानपुरका दुई मुख्य सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् । शुक्रबार दिउँसो करिब ३ बजेर १० मिनेटमा भिमफेदी गाउँपालिका–१ बागझुरास्थित त्रिभुवन राजपथ सडकखण्डमा गिट्टी–बालुवासहितको भलपानी बगेर बाटो पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

उक्त स्थानमा प्रहरी चौकी भैसेबाट ट्राफिक प्रहरी सहितको टोली खटिइ सो सडक विभागसँग समन्वय गरी बाटो खोल्ने पहल भइरहेको जनाएको छ । सैगरी, आजै साँझ ५ बजे भिमफेदी गाउँपालिका–८ भर्याङडाँडास्थित कान्तिलोकपथ सडकखण्डमा पनि माथिबाट ढुङ्गा–माटोसहितको ठूलो पहिरो खसेर बाटो पूर्ण रूपमा अवरुद्ध भएको छ ।

इलाका प्रहरी कार्यालय ठिंगन मकवानपुरका प्रहरी निरिक्षक विद्या सागर मेहताको कमाण्डमा प्रहरी टोली खटिएको र सडक विभागसँग समन्वय गरी बाटो खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । लगातार पानी परिरहेको कारण तत्काल सडक खोल्न कठिनाइ भएको र मौसम अनुकूल भएलगत्तै दुबै सडकखण्ड खुलाउने कार्य अघि बढाइने प्रहरीको भनाई छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.