हेटौँडा । बागमती प्रदेशको राजधानी हेटौँडामा गाइजात्रा पर्व मनाइएको छ । आइतबार नेवा साँस्कृतिक पुचको आयोजनामा हेटौँडामा उक्त पर्व मनाइएको हो ।
पुरानो मकवानपुर रोडस्थित कृष्ण मन्दिरबाट गाइजात्रा सुरु भइ संगमचोक, कान्तिराजपथ हुँदै बुद्धचोक, मेनरोड हुँदै भुटनदेवी मन्दिरमा गएर समापन भएको थियो ।
सो कार्यक्रममा ४२ जना मृतकका परिवारबाट सदस्यहरु गाइजात्रामा सहभागी भएको नेवा साँस्कृतिक पुचका अध्यक्ष सुनकुमार मानन्धरले जानकारी दिए । नेवार सम्प्रदायमा एक बर्षभित्र मृत्यु भएकाको परिवारबाट बालबालिकाहरुलाई सजावट गरी गाई बनेर भगवानको रुपमा वा वास्तविक गाइसहित गाँउ परिक्रमा गर्ने चलन रहीआएको छ ।
यसरी गाइको रुपमा परिक्रमा गर्नेहरुलाई अन्य व्यक्तिहरुले मिठा खानेकुरा वा पैसा दान दिने पनि गरिन्छ । यसरी दान गर्दा दान गर्नेलाई पनि पुण्य प्राप्त हुने जनविश्वास रहीआएको अध्यक्ष मानन्धरले बताए ।

















