हेटौंडा । भिमफेदी गाउँपालिका–१ मा आयोजित सात दिने उद्घोषण तालिम शुक्रबार एक समारोहबीच सम्पन्न भएको छ।
द ग्रीन तारा नेपालको आयोजना तथा भिमफेदी गाउँपालिका–१ नम्बर वडा कार्यालयको आर्थिक सहयोगमा सम्पन्न तालिममा ५० जना सहभागी थिए। तालिम असार ७ गते उद्घाटन गरिएको थियो।
भौगोलिक रूपमा टाढाटाढाबाट, एक–दुई घण्टाको पैदल यात्रा गरी तालिम लिन आएका बालबालिका, महिला तथा युवाको उल्लेख्य सहभागिता रहेको तालिममा उद्घोषण कला र सार्वजनिक सम्बोधनसम्बन्धी विविध अभ्यास गराइएको थियो।
सहभागीको तर्फबाट आइत सिं थिङले तालिमपछिका अनुभवहरू साझा गर्दै आयोजक संस्था र सहयोगी वडालाई धन्यवाद व्यक्त गरे। उनले उद्घोषणको सीप सिक्न पाउनु, माइकको सही प्रयोग बुझ्न पाउनु र आत्मविश्वास बढ्नु आफ्ना लागि अविस्मरणीय अनुभव भएको बताए। सहभागीहरूले यस्ता उपयोगी तालिम स्थानीय स्तरमै पाउनु ठूलो अवसर भएको भन्दै खुशी व्यक्त गरे।

समापन कार्यक्रममा प्रमुख अतिथि रहेका वडा अध्यक्ष सोम बहादुर स्याङ्तानले तालिमबाट प्राप्त ज्ञान व्यवहारमा उतार्न आग्रह गरे। सहभागीहरूले भौतिक विकाससँगै मानवीय ज्ञान, चेतना र सीपको विकासमा समेत बजेट विनियोजन हुनुपर्ने माग राखेकोप्रति सहमति जनाउँदै उनले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई प्राथमिकतामा राखिने बताए।
कार्यक्रमका विशेष अतिथि आयोजक संस्थाका सल्लाहकार तथा थाहा कला केन्द्रका अध्यक्ष सानोबाबु मुक्तानले उद्घोषण केवल बोल्ने अभ्यास मात्र नभई नेतृत्व विकास र आत्मविश्वास निर्माणको आधार भएको बताए।
समापन कार्यक्रममा वडा सदस्य राजकुमार स्याङ्तान, महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रतिनिधि विमला बर्तौलाल, प्रशिक्षकद्वय आशिष दुलाल र रुपक कालिराज लगायतको आतिथ्यता थियो।
कार्यक्रम द ग्रीन तारा नेपालकी अध्यक्ष सुमित्रा थिङको सभाध्यक्षतामा सम्पन्न भएको थियो ।



















