मकवानपुर । मकवानपुर जिल्लामा पछिल्लो समयमा लागूऔषध मुद्दामा पक्राउ पर्नेको संख्या बढ्दो छ । लागूऔषध उत्पादन, सेवन र बिक्रीमा देशमै नाम कहलाएको मकवानपुरमा पक्राउ पर्नेको संख्या बढेको पाइएको हो ।
जिल्लामा चालु आर्थिक वर्ष २०८१/०८२ को हालसम्म १९३ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरको तथ्यांकमा उल्लेख छ ।
तथ्याङ्क अनुसार, चालु आर्थिक वर्षको साउन महिनादेखि हालसम्म १२६ वटा लागूऔषध मुद्दामा १८१ पुरुष र १२ महिला गरी १९३ जना पक्राउ परेका हुन् । जसमा १३ विदेशी नागरिक पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
मकवानपुरमा लागूऔषधको कारोबार र सेवन भयावह र डरलाग्दो अवस्थामा रहेको प्रहरी नायव उपरीक्षक अर्यालले बताए । ‘अघिल्लो आर्थिक वर्षमा १५८ वटा लागूऔषधको मुद्दामा २४९ जनालाई पक्राउ परेकोमा चालु आर्थिक वर्षमा १९३ जनालाई पक्रिसकेका छौं’, प्रवक्ता अर्यालले भने, ‘पक्राउ परेका अधिकांश युवाहरु रहेका छन् ।’
पक्राउ परेकामध्ये ८० प्रतिशत मानिस ३५ वर्ष भन्दा कम उमेर समूहको रहेको बताइएको छ । किशोरीको संलग्नता पनि बढ्दो क्रममा रहेको प्रहरी नायव उपरीक्षक अर्यालले बताए । ‘लागूऔषध ओसारपसार तथा सेवनमा १४–१५ वर्षका किशोरी समेत पक्राउ परेका छन् । लागूऔषधको मामलामा मकवानपुर ‘रेडजोन’ मा रहेको छ’, प्रहरी नायव उपरीक्षक अर्यालले भने ।
मकवानपुरका अधिकांश लागूऔषध प्रयोगकर्ताले ब्राउन सुगर सेवन गर्ने गरेको प्रहरीले बताएको छ । अफिम सेवन गर्नेहरु यहाँ खासै नरहेको उनको भनाई रहेको छ । ‘मेडिकल औषधिजन्य लागूऔषध र ब्राउन सुगरको सेवनकर्ता बढी रहेको छ’, उनले थपे, ‘अफिम खाने खासै पाइएको छैन । गाँजा खाने पनि निकै कम छ ।’
प्रहरीले प्रत्येक दिनजसो जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित मानिस पक्राउ गरिरहेको छ । लागूऔषधको विषयमा सबैले आ–आफ्नो तवरबाट जनचेतना फैलाउन जरुरी रहेको प्रहरीको भनाई छ । प्रहरीले लागूऔषध फँडानी, चेकिङमा कडाई र जनचेतना अभियान सञ्चालन गरिरहेको भएपनि मकवानपुरमा यसको उत्पादन, ओसारपसार र सेवनमा कुनै कमी नआएको जनाएको छ ।

















