हेटौंडा । मकवानपुर बहुमुखी क्याम्पसमा कक्षा ११ को छात्रवृत्तिमा गम्भीर अनियमितता भएको आरोपसहित दुई प्रमुख विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) र अखिल (क्रान्तिकारी) आन्दोलित भएका छन्।
वैशाख ३ गते सार्वजनिक गरिएको छात्रवृत्तिको नतिजाप्रति असन्तुष्टि जनाउँदै दुबै संगठनले नाम छुटेको, फेल भएका विद्यार्थीको नाम समावेश गरिएको र प्रक्रियागत पारदर्शिता नभएको आरोप लगाएका छन्।
विरोधस्वरूप नेविसंघका क्याम्पस सभापति सागर घिमिरे र अखिल (क्रान्तिकारी) का अध्यक्ष अभ्युदय खनालले संयुक्त रूपमा ज्ञापनपत्र बुझाउँदै २४ घण्टाभित्र माग सम्बोधन नभए चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन्।
“२४ घण्टाभित्र हाम्रो मागको सुनुवाइ नभएमा थप आन्दोलनात्मक कार्यक्रम घोषणा गर्न बाध्य हुने छौं।,” विज्ञप्तिमा उल्लेख गरिएको छ।
छात्रवृत्तिको नामसूचीमा जम्मा ९५ जना विद्यार्थीको नाममात्र समावेश गरिएको छ भने बाँकी परीक्षार्थीको अवस्था स्पष्ट नभएको भन्दै विद्यार्थी संगठनले प्रशासनको ध्यानाकर्षण गराएका हुन्।
यस विषयमा प्रतिक्रिया दिंदै क्याम्पस प्रमुख यम सिलवालले अनियमितता नभएको जिकिर गरेका छन्। “यसअघि विद्यार्थी संगठनहरूमार्फत ५ प्रतिशत कोटामा छात्रवृत्ति वितरण गरिन्थ्यो,” उनले भने, “तर यसपटक क्याम्पसले आफैं परीक्षा लिएर नतिजा प्रकाशित गरेको हो।”
















