उद्यमी बन्दै हटौंडाका महिला

हटौंडा । विगत एक वर्ष अघि मात्रै हेटौंडा उपमहानगरपालिका १२ नम्बर वडाका महिलाहरूले गरेको सामुहिक गुन्द्रुक उत्पादन यतिबेला उदाहरणीय बनेको छ । गत वर्ष सामुहिक रूपमा साग खेती सुरु गरेर गुन्द्रुक उत्पादन गरेका हेटौंडाका १२ जना महिला टोलीले गुन्द्रुकलाई ‘ब्रान्डिङ’ गर्दैछन् ।

उनीहरुले उत्पादन गरेको गुन्द्रुकले सरकारी मान्यता पाएपछि त झनै छुट्टै चर्चा बटुल्न सफल भएको छ । हेटौंडा उपमहानगरपालिका १२ घलेगाउँस्थित कञ्चनजंघा कृषि सहकारी संस्था लघु उद्यमी समूहले उत्पादन गरेको गुन्द्रुकलाई हेटौंडा स्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले अनुज्ञापत्र समेत दिइसकेको छ । सामुहिक साग खेती गरेर उत्पादन थालेको अर्गानिक गुन्द्रुकले बजारीकरणका लागि अनुज्ञापत्र प्राप्त गरेपछि हेटौंडा बजारमा मात्रै नभइ विदेश सम्म विक्री हुन थालेको कञ्चनजंघा कृषि सहकारी संस्था लघु उद्यमी समूहकी अध्यक्ष चिनीमाया गुरुङले बताइन् । यस्तै हटौंडा १३ पदमपोखरीमा हेर्न र घुम्न आउनेहरुका लागि पनि निकै रहर लाग्दो ड्राइगन फुड खेती भएको छ ।

दुइ बिगाहा जमिनमा बिगत ९ वर्ष अगाडी देखि एमएनएस एग्रो प्रालिले ड्राइगनफुड खेतीमा ठूलो रकम लगानी पनि गरेको छ । यही खेतीमा रमाइरहेकी छिन् पदमपोखरीकै सपना लामा । तीन करोड रुपैयाँ लगानीमा ड्राइगन फुड खेती सुरु गरेकी उनले आफ्नै दुई बिगाहा जमिनमा सबैलाई रहर लाग्ने गरी ड्राइगन फुड खेती गर्दै आएकी छिन् । सपनालाई उनका श्रीमान फेन्चु रुम्बाले सघाउँदै आएका छन् । उनीहरुले अन्य स्थानीयलाई पनि रोजगारी दिएका छन् । वार्षिक ३० लाख कारोबार हुने गरेको ड्रागन फुडबाट लामालाई हेटौंडा उपमहानगरपालिकाबाट पनि धेरै सहयोग प्राप्त भएको छ । उपमहानगरपालिकाले हेटौंडा–१३ का किसानहरुका लागि अनुदान मात्रै नभएर कोल्ड स्टोर, कृषि एम्बुलेन्सका साथै तारबार गर्न सहयोग समेत गर्दै आएको छ ।

पदमपोखरीका लामाले ड्राइगन फुड खेती संगै तरबुजा, खरबुजा, मेवा, फूल र घाँस खेती गर्दै आएका छन् । यता हेटौंडा–१७ का महिलाहरु पनि अचार उत्पादन गरेर धमाधम विक्री गरिरहेका छन् । उपमहानगरपालिको तालिम लिएपछि उनीहरु उत्पादनसँगै सामुहिक रुपमा दिदीबहिनी अचार उद्योग नै दर्ता गरेर विक्री गरिरहेका हुन् । हेटौंडा उपमहानगरपालिकाले महिलाहरुलाई उद्यमी बन्न प्रेरित गर्ने उद्देश्यसहित विभिन्न सीपमुलक तालिमलाई तीब्रता दिइरहेको छ । उपमहानगरपालिकाले महिलाहरुलाई अनुदानका साथै आवश्यक कच्चा पदार्थ र मेसिनरी सामग्रीहरु समेत उपलब्ध गराउँदै आइरहेको छ । उपमहानगरपालिकाकै सहयोगले हेटौंडामा महिला उद्यमीहरु बढ्न थालेका छन् । तालिम प्रदान गरेर हेटौंडामा करिब एकसय भन्दा बढी महिलाहरु उद्यमी बनिसकेको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत गौतमले जानकारी दिए ।

उनका अनुसार कञ्चनजंघा लघु उद्यमी समूहले गुन्द्रुक उत्पादन गरेर विक्री गरिरहेको छ भने सक्रिय महिला उद्यमी समूहले दालमोठ, चिप्स, भुजिया उत्पादन गरी विक्री गरिरहेको छ । दिदीबहिनी अचार उद्योगले पनि अचार विक्री गरिरहेको उनले बताए । हेटौंडा ढाका उद्यमी समूहले ढाका उत्पादन गर्नुका साथै हर्नामाडी गार्मेन्ट उद्योग र गार्मेन्ट उद्योगले पनि विभिन्न किसिमका सीपमुलक तालिम प्रदान गरिरहेको छ । बेसार खेती तथा बेसार प्रशोधन, तरकारी तथा फलफुल खेती र केरा खेतीलगायतमा थुप्रै महिलाहरु उद्यमी बनिसकेको प्रमुख प्रशासकीय अधिकृत गौतमले दावी गरे । महिलाहरुले आफू उद्यमी मात्रै नभई अन्य महिलाहरुलाई पनि रोजगारी प्रदान गरिहेको उनले बताए ।

महिलाहरुका लागि तालिम दिँदा बजारको अध्ययन गर्नुका साथै महिलाहरुका आवश्यक कार्यक्रम प्रदान गर्दै आइरहेको जिकिर गरे । हेटौंडा उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले उपमहानगरपालिकाले महिलाहरुलाई विशेष प्राथमिकता दिएर कार्यक्रम अघि बढाएको बताए । उनले महिला उद्यमीरुका लागि बिना धितो ऋण दिन सक्ने वातावरण बनाउनुका साथै आगामी दिनमा महिला उद्यमीहरुका लागि अझै राम्रा कार्यक्रमहरु ल्याउने जानकारी दिए ।

महिला र युवालाई उद्यमी बनाउन लागिपरेको छु :  मेयर लामा

हेटौंडा उपमहानगरपालिकाका मेयर मीनाकुमारी लामाले हेटौंडाका महिला र युवालाई उद्यमसँग जोड्न लागिपरेको बताएकी छिन् । उद्यमले महिला र युवालाई आर्थिक रुपमा सशक्त बनाउनुका साथै बेरोजगारी समस्या हल गर्न समेत मद्दत पुग्ने उनको विश्वास रहेको छ ।

‘हेटौंडा उपमहानगर भएपनि भौगोलिक र शैक्षिक रुपमा निकै पछि परेको समुदाय हामीसँग रहेको छ । भौतिक विकाससँगै शिक्षा र स्वास्थ्यलाई विशेष प्राथमिकता दिएको हामीले उद्यम विकासलाई पनि सोही अनुसार प्राथमिकतामा राखेका छौं’, मेयर लामाले भनिन्, ‘युवा बेरोजगारी हटाउनु र महिलाहरुलाई उद्यमको माध्यमबाट आर्थिक रुपमा सशक्त बनाउनु हाम्रो उद्देश्य हो ।’ काम गर्ने क्रममा विभिन्न अड्चन आएपनि महिला र युवालाई उद्यमी बनाउने विषयमा नडग्मनाउने उनको संकल्प रहेको छ । यस क्रममा कहिँकतै गलत नियत नराखेको उनले प्रष्ट समेत पारिन ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.