हेटौंडामा पत्रकार सुरेश रजक हत्या प्रकरणका विषयमा सम्पादक तथा प्रकाशकसँग छलफल

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा स्व. पत्रकार सुरेश रजक हत्या प्रकरणका विषयमा सम्पादक तथा प्रकाशकसँग छलफलको आयोजना गरिएको छ । नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले नेपाल पत्रकार महासंघको केन्द्रिय सर्कुलर बमोजिम आज सम्पादक तथा प्रकाशकसंग छलफल गरेको हो ।

दोस्रो चरणको आन्दोलन अन्तर्गत नेपाल पत्रकार महासंघद्वारा घोषित कार्यक्रम अनुसार, जिल्ला शाखाले स्व. पत्रकार रजकको हत्या प्रकरण र पछिल्लो समय पत्रकारिता माथि भइरहेका आक्रमणका विषयमा पत्रकार महासंघको सभाहलमा छलफल गरेको हो ।

छलफलमा सहभागीहरुले आन्दोलन कमजोर भएको र एउटा बन्द कोठाभित्र गरिने आन्दोलनबाट न्याय नपाउने भन्दै आन्दोलनलाई थप सशक्त बनाउँदै सरकारलाई दबाब दिनुपर्नेमा जोड दिएका थिए ।

हालसम्मका आन्दोलनका कार्यक्रमहरू प्रभावकारी बन्न नसकेको उल्लेख गर्दै उनीहरुले आन्दोलनलाई निचोडमा पुग्ने खालका कार्यक्रम ल्याउनुपर्ने आवश्यकता औंल्याएका थिए ।

छलफलमा बोल्दै नेपाल पत्रकार महासंघ बागमती प्रदेशका संस्थापक अध्यक्ष प्रताप विष्ट, महासंघ बागमती प्रदेशका उपाध्यक्ष हरि हुमागाई, समृद्ध समाज राष्ट्रिय दैनिकका सम्पादक एवम् स्वतन्त्र पत्रकार संघका उपमहासचिव सुरेश श्रेष्ठ, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीलगागतले आफ्नो भनाई राखेका थिए ।

कार्यक्रममा पत्रकार महासंघ मकवानपुरका पूर्व अध्यक्ष भानुभक्त आचार्य, समाजवादी प्रेस संगठनका केन्द्रीय सदस्य राजन दाहाल, प्रेस युनियन मकवानपुर अध्यक्ष सुवास बिडारी, प्रेस सेन्टर मकवानपुर अध्यक्ष एमपी शर्मा, समाजवादी प्रेस संगठन मकवानपुर अध्यक्ष गोविन्द न्यौपाने, प्रेस चौतारी मकवानपुरका उपाध्यक्ष शिव चौलागाई लगायत विभिन्न सञ्चारमाध्यमका सम्पादक तथा प्रकाशकको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.