मकवानपुर । कान्तिलोकपथ सडकखण्ड अन्तर्गत मकवानपुरको मकवानपुरगढी गाउँपालिका–२ धरमपानीमा आज बिहान इभी गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
काठमाडौँबाट हेटौंडातर्फ आउँदै गरेको बा प्र ०१–००६ ख ७०७२ नम्बरको यात्रुबाहक गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
बिहान १ः०० बजेको समयमा सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटनाग्रस्त हुँदा रौतहटकी ५० वर्षीया नीलमदेवी राउत र सर्लाहीकी १३ वर्षीया मानुसी मगरको मृत्यु भएको प्रहरी नायव उपरीक्षक अर्यालले बताए ।
दुर्घटनामा परेर गम्भीर घाइते भएकी रौतहटकी नीलमदेवी राउतको उपचारको क्रममा आज बिहान हेटौंडा अस्पतालमा मृत्यु भएको हो । यस्तै, सर्लाहीकी मानुसी मगरको शव आज बिहान घटनास्थल नजिकैको खोल्सामा भेटिएको प्रहरी नायव उपरीक्षक अर्यालले बताए ।
प्रहरी नायव उपरीक्षक अर्यालका अनुसार, दुर्घटनाको जानकारी प्राप्त भएसँगै इलाका प्रहरी कार्यालय मकवानपुरगढीबाट प्रहरी निरीक्षक वीरेन्द्र रायमाझीको कमाण्डमा प्रहरी टोली खटिएको थियो ।
चालकसहित १६ जना सवार उक्त गाडी दुर्घटना हुँदा अन्य १४ जना घाइते भएका छन् । दुर्घटनामा घाइते भएकाहरुको हेटौंडा अस्पताल र मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक अर्यालले बताए ।

















