मकवानपुर । पछिल्लो समय मकवानपुरको वन क्षेत्रमा डढेलो लाग्ने क्रम दिनाहु बढ्दै गएको छ । जिल्लाको १४७ स्थानमा डढेलो लागिरहेको डिभिजन वन कार्यालय मकवानपुरले जनाएको छ ।
जिल्लाको दुई हजार ४९५ हेक्टर वनक्षेत्रमा अहिले पनि डढेलो लागिरहेको डिभिजनल वन कार्यालय मकवानपुरका अधिकृत राकेशप्रसाद चन्द्रवंशीले जानकारी दिए । उनका अनुसार अहिलेको अवस्थामा मकवानपुरको १० स्थानीय तहको १४७ स्थानमा डढेलो लागेको हो ।
जिल्लामा सबैभन्दा बढी हेटौँडा उपमहानगरपालिकामा डढेलमे लागेको पाइएको छ । हेटौंडाको ४३ स्थानमा डढेलो लागेको छ । उपमहानगर क्षेत्रभित्र पर्ने विभिन्न सामुदायिक वनहरूमा गरी ६१४ हेक्टर वनमा डढेलो लागेको उनको भनाई छ ।
केही दिनयता बागमती प्रदेशको राजधानीसमेत रहेको हेटौंडा आसपासका क्षेत्रहरू बाक्लो तुवाँलोले ढाकेको छ । इसैगरी, जिल्लाको उत्तरी क्षेत्र थाहा नगरपालिकामा ९ स्थानमा डढेलो लाग्दा १०४ हेक्टर क्षेत्रफल, इन्द्रसरोवर गाउँपालिकामा १६ स्थानको चार सय हेक्टर क्षेत्रफल, कैलाश गाउँपालिकाको १० स्थान वन डढेलो लाग्दा २९५ हेक्टर, राक्सिराङ गाउँपालिकाको ३ स्थानमा डढेलो लाग्दा १५० हेक्टर, भीमफेदी गाउँपालिकाको १२ स्थानमा डढेलो लाग्दा ३४८ हेक्टर क्षेत्रफलको वन जलेर नष्ट भएको छ ।
यसैगरी, जिल्लाको मनहरी गाउँपालिकाको पाँच स्थानमा डढेलो लाग्दा १७७ हेक्टर, मकवानपुरगढी गाउँपालिकाको ८ स्थान स्थानमा डढेलो लाग्दा २२६ हेक्टर क्षेत्रफल, बकैया गाउँपालिकामा २१ स्थानमा ६० हेक्टर क्षेत्रफल, बागमती गाउँपालिकामा २४ स्थानमा डढेलो लाग्दा १२१ हेक्टर वनमा डढेलो लागेको डिभिजन वन कार्यालय मकवानपुरका प्रमुख चन्द्रवंशीलेले जानकारी दिए ।

















