मकवानपुर । छिमेकी जिल्ला बाराको सिमरा रंगशालामा यही चैत्र २२ गते शुक्रबारबाट १५ औं संस्करणको जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिता सुरु हुँदैछ ।
जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य प्रायोजनमा सञ्चालन हुन लागेको प्रतियोगिताको तयारी पूरा भएको आयोजकले बताएको छ ।
प्रतियोगितामा विभिन्न चर्चित क्लबसहित मोफसलका क्लब गरी ८ टिमको सहभागिता रहने भएको छ । प्रतियोगिताको विजेताले १० लाख तथा उपविजेताले ५ लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ ।
आयोजक नवजनजागृति क्लब सिमराका अध्यक्ष रामचन्द्र लामाका अनुसार सिमरा रंगशालाको फ्लड लाइटमा आयोजना हुने प्रतियोगितामा साविक विजेता नेपाल पुलिस क्लब, मच्छिन्द्र फुटबल क्लब, फ्रेण्ड्स क्लब, हिमालयन शेर्पा क्लब, भरतपुर फुटबल क्लब चितवन, सलहेश युवा क्लब सिराहा, मकवानपुर जिल्ला फुटबल संघ र आयोजक नवजनजागृति युवा क्लब सिमराको सहभागिता रहनेछ ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एकथान इलेक्ट्रिक स्कुटर प्राप्त गर्नेछन् भने विधागत उत्कृष्टले समान २५ हजार तथा उदयीमान खेलाडीले १५ हजार नगदसहित ट्रफी प्राप्त गर्नेछन् । प्रत्येक खेलको म्यान अफ दि म्याचले १० हजार नगदसहित ट्रफी प्राप्त गर्नेछन् ।
भरतपुर फुटबल क्लब र सहलेशको बिचमा उद्घाटन खेल हुँदा शनिबार मकवानपुरले आयोजक नवजनजागृति क्लवको सामना गर्नेछ । आयोजक क्लबको आर्थिक अवस्था तथा ए डिभिजन क्लबहरुको वर्तमान अवस्थाका कारण सहभागी टिमको संख्या घटाइएको क्लवले जनाएको छ । यसअघिका संस्करणहरुमा कम्तिमा १० टिमको सहभागिता रहँदै आएको थियो ।

















