मकवानपुर । बागमती प्रदेशसभाको चालु अधिवेशन आज रातिबाट अन्त्य हुने भएको छ । प्रदेश सरकारको सिफारिसमा बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले १५ औँ चालु अधिवेशन आज रातिबाट लागू हुने गरी अन्त्य गरेका हुन् ।
प्रदेश प्रमुखको कार्यालयले बुधबार एक विज्ञप्ति जारी गर्दै प्रदेश सभाको चालु १५ औँ अधिवेशन बुधबार राति १२ बजेबाट अन्त्य गरिएको जानकारी गराएको हो ।
प्रदेश प्रमुख देवकोटाले बागमती प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (२)ं बमोजिम प्रदेशसभाको चालु अधिवेशन चैत २० गते बुधबार राति ११ः५९ बजेदेखि अन्त्य गरेको उल्लेख गरिएको छ ।
बागमती प्रदेश सभा सचिवालयले प्रदेश प्रमुख देवकोटाबाट प्रदेशसभा अधिवेशन अन्त्य गरिएको पत्र प्राप्तभएको जनाएको छ। यसअघि बागमती प्रदेश सरकारले हिउँदे अधिवेशनको रूपमा रहेको चालु अधिवेशन बुधबार रातिबाट अन्त्य गर्ने निर्णय गरेको थियो।
प्रदेश सरकारको मुख्यमन्त्री कार्यालय, हेटौँडामा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले चालु अधिवेशन अन्त्य गर्न बागमती प्रदेशका प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको हो। प्रदेश सभाको चालु अधिवेशन गत माघ १८ गतेबाट सुरुभएको थियो।

















