मकवानपुर । बागमती प्रदेशसभा बैठक आज बस्दैछ । मंगलबार स्थगित भएको प्रदेशसभा बैठक आज बस्न लागिएकोे हो ।
बैठक आज दिउँसो १ बजे बस्ने गरी आह्वान गरिएको प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले जानकारी दिए ।
उनका अनुसार, मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको बागमती प्रदेशसभा बैठक सर्वदलीय बैठकमा सहमति हुन नसक्दा साँझ ७ बजेसम्म पनि बैठक बस्न नसकेपछि आजको लागि सारिएको हो ।
यसअघि मंगलवार बिहानदेखि बसेको प्रदेशसभाका ७ दलको बैठक समेत निष्कर्षविहीन बनेको थियो । बैठकमा सत्तापक्ष र प्रतिपक्षबीचको विगतको बजेट माथिको सहमति र पछिल्लो समय भएको सहकारी मन्त्री मदुकुमार श्रेष्ठको स्वकीय सचिवको आत्महत्या प्रकरणमा छानबिन समिति गठनका विषयमा सहमति जुट्न नसक्दा बैठक सहमतिविहीन बनेको थियो ।
सर्वदलीय बैठकमा सहमति भइसकेपनि कार्य व्यवस्था परामर्श समितिको बैठकमा विपक्षी दलका केही सांसदहरुले असहमति जनाएपछि बैठक सरेको सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए ।
नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक रत्न ढकालले सरकारले विपक्षी दलहरुलाई बेवास्ता गर्दा सहमति जुट्न नसकेको बताए । प्रतिपक्षले विगतका सहमती र केही विषयमा जवाफ माग गर्दा पनि सरकार त्यसमा जिम्मेवार बन्न नसकेको उनको आरोप रहेको छ ।
विगतमा भएको बजेट माथिको सहमति कार्यान्वयन र सहकारी मन्त्री श्रेष्ठको स्वकीयको मृत्युको छानबिन समिति गठनका विषयमा उठान भएको उनले बताए । सरकारले उचित जवाफ नदिँदा बैठकमा सहमति जुट्न नसकेको ढकालले बताए । सरकारको प्रतिबद्धतासहितको जवाफ नआए बुधवार बस्ने भनिएको संसद् बैठक पनि अवरुद्ध गर्ने उनले चेतवानी दिएका छन् ।

















