बामगती प्रदेशः यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मकवानपुर । बागमती प्रदेशको मन्त्रिपरिषद् बैठकले विभिन्न पाँच निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय सरकार विरुद्ध रिट हाल्ने लगायत विभिन्न पाँच निर्णय गरेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए ।

श्रम रोजगार तथा यातायात मन्त्रालयको प्रस्तावमा नेपालको संविधानको २०३७ को उपधारा ‘२’ को खण्ड ‘क’ बमोजिम संविधानले प्रवदत्त गरेको एकल अधिकार सूचीभित्र रहेको यातायात सम्बन्धि व्यवस्थामा ट्याक्सीको मापदण्ड नबनेका कारण निजी संस्थाले मापदण्ड नबन्दा काम गर्न असहज भएको भन्दै एकल इजालास नै नबुझी उच्च अदालतमा रिट हालेको र उच्च अदालतले पनि कार्यविधि बनाउनु भनेर आदेश दिएको हुुँदा उक्त अधिकार प्रदेशको एकल अधिकारको क्षेत्र भएको हुनाले संघलाई हस्तक्षेप नगर्न संवैधानिक अदालतमा प्रदेश सरकारले रिट हाल्ने निर्णय गरेको प्रवक्ता लामिछानेले जानकारी दिनुभयो ।

यस्तै, बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रस्तावमा भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गतको ललितपुरको डिभिजन कार्यालयमा प्रमुखका पद रिक्त रहेकोले अर्को व्यवस्था नभएसम्मलाई ११ औं तहका ईन्जिनियर राजु श्रेष्ठलाई बढीमा ६ महिनाका लागि कायम मुकायम राख्ने निर्णय गरेको छ ।
प्रवक्ता लामिछानेले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्रदेश नीति तथा योजना आयोगको गठन तथा सञ्चालन गर्न स्वीकृति प्रदान गर्ने पनि बैठकले निर्णय गरेको बताए । प्रदेश सरकार सञ्चालन भएको ७ वर्षमा पनि गठन आदेशबाटै चलिरहेको हुँदा ऐन नै बनाएर मस्यौदा तयार गर्नका लागि प्रारम्भिक रुपमा सैद्धान्तिक स्वीकृतीका लागि माग भएर आएको र त्यसलाई स्वीकृत दिने प्रदेश सरकारले निर्णय गरेको प्रवक्ता लामिछानेले बताए ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयको प्रस्तावमा प्रदेश सरकारले नयाँ वर्ष २०८२ मा ४ दिन सार्वजनिक विदा थप्ने भएको छ । संघ बाहेक प्रदेश सरकारले दिन पाउने ६ वटा सार्वजनिक विदामध्ये आउँदो बैशाखमा नयाँ क्यालेन्डर निकाल्ने गरी थप ४ दिन बिदा दिने निर्णय गरेको प्रवक्ता लामिछानेले बताए । उक्त निर्णयसंगै विगतमा पर्व र दिवस विषेशमा विदा दिन मन्त्रिपरिषद् बैठक बस्नुपर्ने अवस्था नरहने उनले बताए । उनका अनुसार प्रदेश सरकारले प्रदेश कामकाजी भाषा ऐन कार्यान्वयन भएको दिन (बैशाख २४ गते), गाइजात्राको दिन साउन २५ गते, चेपाङ समुदायको न्वागी भदौ २२ गते र माझी समुदायको लदी पर्व फागुन १९ गतेका दिन दिन बिदा दिने निर्णय गरेको छ ।

सरकारले मन्त्रिपरिषदले गरेको उक्त निर्णय राजपत्रमा प्रकाशित गरेपछि कार्यान्वयनको चरणमा अघि बढ्नेछ । बागमती प्रदेशभरका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा विदा लागू हुने उनले बताए । विगतमा प्रदेश सरकारले विभिन्न पर्व र अवसरमा ६ दिन मन्त्रिपरिषद बैठकले निर्णय गरी बिदा दिने गरिएको थियो । बैठकले अर्थ तथा योजना मन्त्रालयको प्रस्तावमा प्रदेश समपुरक अनुदान सम्बन्धी कार्यविधि २०८१ स्वीकृत गर्ने निर्णय गरेको छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.