हेटौंडा । भूमि सम्बन्धी समस्या समाधानका लागी भूमि आयोग मकवानपुर निरन्तर अभियानमा छ । बिहीबार आयोगले आफ्नो अभियानलाई निरन्तरता दिँदै मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा एकदिने अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो।
यसअघि आयोगले बागमती गाउँपालिका, थाहा नगरपालिका, राक्सिराङ र इन्द्रसरोबर गाउँपालिकामा यस्ता अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिसकेको छ । मंगलबार मकवानपुर गढी गाउँपालिका ३ नम्बर वडा कार्यालयमा आयोजित अन्तरक्रिया एवम् छलफल कार्यक्रममा भूमि समस्या समाधान आयोग मकवानपुरका अध्यक्ष बलराम बलले गाउँपालिकाका भुमिहिन जनतालाइ भुमी उपलब्ध गराउन वडास्तरबाट नै पहल हुनुपर्ने र स्थानीयवासीको समस्या समाधानका लागि पहिचान र प्रमाणीकरण गरी प्राप्त फाइलहरु चाडोभन्दा चाडो गाउँपालिकामा पठाउन सहजिकरण गरिदिन अनुरोध गरे ।
उनले भूमि आयोगले गरिरहेका कार्यहरूलाई प्रभावकारी बनाउन स्थानीय तहको साथ र सहयोग आवश्यक रहेको बताउँदै विशेषगरी राजनितीक दलहरुको पनि पूर्ण रूपमा सहयोग हुनुपर्ने औंल्याए ।
लालपुर्जा वितरणको प्रक्रिया अघि बढाउन आग्रह
अध्यक्ष बलले जनतालाई आश्वासन र आज भोली मात्र होइन काम हुनि गरी पुर्जा हात पर्ने गरि काम अघि बढाउनु पर्नेमा जोड दिए । उनले गाउँपालिका र सम्पूर्ण वडाहरूले नेपाल सरकारले निर्देशन गरेका फारमहरु भरेर तयार भएका फाइलहरू समयमै आयोगमा पठाउने व्यवस्था मिलाउन जनप्रतिनिधि, कार्यपालिका सदस्य र वडा सचिवहरुलाइ आग्रह समेत गरे ।
मकवानपुरगढि गाउँपालिकाका अध्यक्ष दोर्जे स्याङतानले दक्ष प्राविधिकको कमिले गर्दा प्रमाणिकरण गरिसकेको फाइलहरू पहिचान गर्ने कार्य पूरा गर्न नसकिएको बताए । साथै, भुमिहिन दलित, सुकुमबासीको समस्याभन्दा अव्यवस्थित बसोबासीको समस्या बढी भएको अध्यक्ष स्याङतानले बताए । ‘अहिले पालिकामा सार्वजनिक जग्गाको समस्या अत्याधिक रहेको र सोही कारण जग्गाको नाप नक्सा गर्न र सर्भे गर्न समस्या भएको हो ।’, उनले भने, ‘हाल गाउँपालिकामा दर्ता भएका अन्य फाइलहरूको पहिचान र प्रमाणीकरण प्रक्रियामा रहेको र प्रमाणित फाइलहरूलाई कम्प्युटर प्रणालीमा प्रविष्टि गर्नका लागि कर्मचारीहरूलाई आवश्यक तालिमको आवश्यकता छ ।’
मकवानपुरगढी गाउँपालिकाको ८ वडाबाट प्रमाणिकरण गरिएका फाइलहरूमा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी, र अव्यवस्थित सुकुम्बासी गरी ४ हजार २ सय ३० परिवारको पहिचान भइसकेको भूमि समस्या समाधान आयोग मकवानपुरका सदस्य कविन सांगामीले जानकारी गराए ।
कार्यक्रममा भूमि आयोग मकवानपुरका विज्ञ सदस्य अर्जुनप्रसाद चौलागाईं, महिला सदस्य डिल माया घर्ती, मालपोत कार्यालय मकवानपुरका प्रमुख रघुवंश कडेंल, नापी कार्यालय मकवानपुरका प्रमुख खीम बहादुर राना, मकवापुरगढीका निवर्तमान अध्यक्ष बिदुर हुमागाइ, पालिकाको ८ वटै वडा अध्यक्षहरूलगायत , पालिकामा क्रियाशील राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधि तथा स्थानीयवासीहरूको उपस्थिति रहेको थियो।














