हेटौंडा । मगर समुदायले हेटौंडामा ४३ औं ‘मगर संघ स्थापना दिवस’ भव्य रुपमा मनाएको छ । नेपाल मगर संघ जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा बिहिबार वृहत सास्कृतिक कार्यक्रम गर्दै ‘मगर संघ स्थापना दिवस’ मनाएको हो ।
हेटौंडाको बुद्ध चोकदेखि कार्यक्रम स्थल हुप्रा चौरसम्म झाँकी सहितको र्याली निकालिएको थियो । कार्यक्रमको उद्घाटन गर्दै कार्यक्रमको प्रमसख आतिथी समेत रहेकी हेटौंडा उपमहानगरपालिका प्रमुख मिना कुमारी लामाले मुलुकमा लोकतन्त्र स्थापनापश्चात् सबै जातजाति र धर्मावलम्बी संगठित भएर अगाडि बढ्ने अवसर पाएको बताइन् । भाषा र संस्कृति लोप भएमा जातीय पहिचान नै संकटमा पर्ने भएकाले सबै जातजातिले आफ्नो भाषा र संस्कृति जगेर्ना गर्न उनले आग्रह गरिन् ।
यसैगरी कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गायिका राधिका हमाल पुन, लोकदोहोरी गायिका तथा नृत्यकार शशी पुन मगर, लोक तथा दोहोरी गायक अजित लोप्चन लगायतले गायन र स्थानिय कलाकारहरुले मगर सस्कृति झल्कने कौरा, मारुनी, घाटु, हुर्रा नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा मगर समुदायको मौलिक परिकारहरुको स्टल समेत राखिएको थियो । कार्यक्रम मगर संघ जिल्ला समन्वय समिति मकवानपुर अध्यक्ष सन्देश मगरको सभाध्यतामा सम्पन्न भयो ।
मकवानपुरमा झन्डै २२ हजार मगरहरुको जनसङ्ख्या रहेको छ । बर्षेनि फागुन १५ गतेलाई मगर संघले स्थापना दिबसको रुपमा मनाउने गरिन्छ । यस प्रकारका कार्यक्रम वाट मगर एकता र मगर संस्कृतिको जगेर्ना हुने बिश्वास लिएका छन्। मगर समुदायको माघे सकराती, लखन स्मृति दिवस, अरुण स्मृति दिवस, संघ स्थापना दिवस, बुद्ध पुर्णिमा, धान्य पुर्णिमा लगायत मुख्य चाड तथा दिवस रहेका छन् ।

















