हेटौंडा । हेटौंडा उपमहानगरपालिका १९ नम्बर वडा नेवारपानीमा रहेको खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले आफ्ना उपभोक्तालाई सुपथ मुल्यमा धारा तथा खानेपानी उपलब्ध गराउँदै आएको छ ।
आफुले समितिको नेतृत्व गरे पश्चात् निम्न आय भएका उपभोक्ताले पानीबाट वञ्चित हुन नदिने उद्देश्यले थोरै मुल्यमा धारा तथा खानेपानी उपलब्ध गराउँदै आएको समितिका अध्यक्ष विष्णुलाल स्याङ्तानले बताए ।
यसअघि धारा जोड्न १५ हजार शुल्क लिने गरेको समितिले हाल ४ हजार ५ सय रुपैयाँमै धारा उपलब्ध गराउँदै आएको उनले जानकारी दिए । यस्तै, यसअघि १० युनिटकै रु. २५०/– महशुल रहेको खानेपानीको उनको नेतृत्व पछि हाल १५ युनिटको रु. १५०/– मै उपलब्ध गराउँदै आएको बताए ।
उनकै पहलमा २ लाख लिटरको दुईवटा, डेढ लाख लिटरको एउटा र अन्य परिमाणको ट्यांकी निर्माण सम्पन्न भएको उनले बताए । यस्तै, असहाय, वृद्धा र अपाङ्गता भएका उपभोक्तालाई नि:शुल्क पानी उपलब्ध गराउने योजना रहेको उनको भनाई छ । “हाम्रो उपभोक्तालाई खानेपानीको समस्या हुन दिन्न”, उनले भने “नेवारपानीमा सस्तो शुल्कमा शुद्ध खानेपानीको लागि अब समस्या हुँदैन।”
समितिमा ३ सय ५२ उपभोक्ता सदस्य रहेका छन् ।


















