हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकामा एक वृद्धा र ७ वटा बाख्रा मार्ने बाघ दुई दिनपछि नियन्त्रणमा लिईएको छ। मंगलबार मनहरी-५ बसन्तपुर स्थित सुकौरा खोलामा एम्बुस थापी बन्दुक बाट लट्याउने सुई लगाई (डाट प्रबिधी द्वारा) नियन्त्रणमा लिइएको हो ।
आईतवार बाघको आक्रमणबाट बसन्तपुरकी स्थानीय ७२ वर्षीय कान्छीमाया रुम्बाको ज्यान गएको थियो। यस्तै, सोमबार सोही बाघले ७ वटा बाख्रा मारेको थियो। सोमबार अन्दाजी दिउँसो ०२ः०५ बजेदेखी बाघ खोजतलास गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
प्रहरीका अनुसार बाघको खोजतलासको लागी पर्सा बन्यजन्तु आरक्षणबाट खटीएको कर्मचारी, चितवन राष्ट्रिय निकुञ्जबाट खटीएको बाघ नियन्त्रण प्राबिधिक टोली ४ जना, निकुञ्ज सुरक्षार्थ मनहरी–३ लामिटार बेसबाट खटीएका नेपाली सेनाको मेजर ढलक बहादुर मोक्तान र ४ वटा हात्ती सहितको टोलीले बाघ नियन्त्रणमा लिइएको हो। बाघलाई पर्सा बन्यजन्तु आरक्षण लगिएको प्रहरीको भनाई छ ।

















