हेटौंडा । १६ मंसिरमा हुने हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ को उपनिर्वाचनको वडाअध्यक्ष पदको नेपाली काँग्रेसका उम्मेदवार अर्जुनप्रसाद तिवारी यतिबेला घरदैलो कार्यक्रममा व्यस्त छन् । उनि आफ्नो वडाका मतदाता भेटघाटमा व्यस्त छन् ।
२०७९ को स्थानीय तह निर्वाचनमा निर्वाचित माओवादी केन्द्रका ललित घलान जिल्ला समन्वय समितिको प्रमुख भएपछि उक्त वडाको वडाअध्यक्ष पद रिक्त रहेको थियो । गत आइतबार उक्त पदमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवार गरी १४ जनाले मनोनयन दर्ता गराएका थिए । जसमा राजनितिक दलबाट ९ जना र स्वतन्त्र ५ जनाले उम्मेद्वारी दर्ता गरेका थिए । २ जना स्वतन्त्र उम्मेदवारले उम्मेदवारी फिर्ता लिएसँगै हाल १२ उम्मेदवार कायम भएका छन् ।
उम्मेद्वारी दिएका १२ जनामध्ये मुख्य तीन प्रमुख दल नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) बिच कडा प्रतिप्रस्पर्धा हुने देखिएको छ । नेकपा एमालेका राजेश नगरकोटी , कांग्रेसका तिवारी र नेकपा (माओवादी केन्द्र)का रबि कुमार प्रधान (रविन) बिच प्रतिश्पर्धा हुने देखिन्छ । नेकपा एमालेको तर्फबाट उम्मेदवारी दर्ता गराएका नगरकोटीको दोस्रो र कांग्रेसबाट उम्मेद्वार बनेका तिवारीको भने यो तेस्रो पटक सोही पदका लागि उम्मेदवारी हो ।

गत स्थानीय तह निर्वाचनमा यस वडाको वडाअध्यक्ष पदमा माओवादीका घलान, कांग्रेसका तिवारी र एमालेका नगरकोटीबीच चुनावी प्रतिस्पर्धा भएको थियो । जसमा तीनै जना उम्मेदवारको मतान्तर निकै कम थियो । १ हजार ३ सय ७१ मत ल्याएका माओवादीका घलान विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका तिवारीले १ हजार ३ सय ४० मत ल्याउँदा नगरकोटीले १ हजार ३ सय २५ मत प्राप्त गरेका थिए । अध्यक्ष पदमा माओवादीका घलान बिजयी भएतापनि बाँकी ४ जना सदस्य नेकपा एमालेले जितेको थियो । उक्त वडामा महिला मतदाता ४ हजार एक सय ७४, पुरुष मतदाता ३ हजार ८ सय ७८ र अन्य मतदाता १ जना गरि कुल ८ हजार ५३ मतदाता रहेका छन्
यस अघि २०७४ सालको मत परिणाम अनुसार कांग्रेसका उम्मेदवार तिवारी माओवादीका उम्मेदवार घलानसँग १ सय ४ मतान्तरले पराजित भएका थिए । यस्तै, उनि २०७९ को निर्वाचनमा माओवादी उम्मेदवार घलानसँग नै ३१ मतान्तरले पराजित भए । आफु पराजित भएता पनि जनताको काममा इमान्दारीताका साथ लागि परेकोले यो पटक जनताले मन र मत दुबैले आफुलाई नै चुन्नेमा तिवारी बिश्वस्त छन् । तिवारीले विहिबार ५९ बुँदामा आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गर्दै सोही दिनबाट आफ्नो महत्वपूर्ण एजेण्डासहित उनि आफ्ना मतदाता भेटघाटका लागी घरदैलोमा व्यस्त रहेको उनको सचिवालयले जानकारी दिएका छन् ।

पछिल्लो १० वर्षदेखि स्थानीय विकासमा सक्रिय रही सामुदायिक परियोजनाहरू सञ्चालन र नेतृत्व गर्न उनको अनुभवले उनलाई यो भूमिकाका लागि योग्य बनाएको उम्मेदवार तिवारी बताउँछन् । उनि सामूहिक नेतृत्वको पक्षमा समुदायको सहभागितालाई प्राथमिकता दिएर पारदर्शी र जवाफदेही शैलीमा काम गर्ने बताउँछन् । वडाको मुख्य रूपमा पुर्वाधार र बेरोजगारी जस्ता समस्याहरू प्राथमिकतामा राखेर समाधान गर्ने योजना रहेको तिवारी बताउँछन् । जसमा खानेपानी परियोजनाको स्थायित्वका लागि नयाँ स्रोतहरू खोज्ने, वडाका प्रमुख सडकहरूको मर्मत तथा स्तरोन्नतिको काम अघि बढाउने र स्थानीय सीपमूलक तालिमहरू सञ्चालन गरेर रोजगारी सिर्जना गर्ने लगायतको योजना रहेका छन् ।
उनि सामाजिक मुद्दाहरूमा यसो भन्छन्, “महिलाका लागि उद्यमशीलता विकास तालिम, बालबालिकाका लागि गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने, र ज्येष्ठ नागरिकका लागि स्वास्थ्य शिविरहरूको आयोजना गर्न पहल गर्नेछु।” उनि थप्छन्, “सामाजिक सुरक्षा भत्ता घरमै पुगी वितरण गर्ने वातावरण बनाउँछु ।”
यस्तै बेरोजगारी समस्या समाधान गर्न स्थानीयस्तरमा स्वरोजगारका अवसरहरू सिर्जना गर्ने र उद्यमशीलताको विकासका लागि सहकारी र सरकारी कार्यक्रमसँग समन्वय गर्ने उनको योजना छ ।
पारदर्शिता र जवाफदेहिताको सवालमा हरेक खर्चलाई वडाको वेबसाइट र सूचना पाटीमार्फत सार्वजनिक गर्ने, जनप्रतिनिधिहरूसँग मासिक बैठक राखेर जनताका गुनासो सम्बोधन गर्ने जस्ता योजना उनका प्रतिबद्धता पत्रमा उल्लेख छ । यस्तै, प्रतिबद्धता पत्रमा भ्रष्टाचार नियन्त्रणका लागि सार्वजनिक खरिद र बजेट खर्च प्रक्रियामा अनिवार्य रूपमा निगरानी समितिको गठन गर्ने उनको योजना रहेको उल्लेख छ ।

उनले पालिकासँग निरन्तर छलफल र साझेदारी गरी वडाका प्राथमिकतालाई नगरपालिका योजनामा समावेश गराउने बताउँछन् । उनि केवल वाचा गर्ने मात्र नभई हरेक निर्णय र काममा जनताको सहभागिता सुनिश्चित गरेर परिणाम दिने योजना बोकी उम्मेदवारी दिएकोले उनको एजेन्डा अन्य उम्मेदवारहरूभन्दा फरक रहेको दावी गर्छन् । उनि स्थानीय जनताको समस्या देखेर उनले सक्रिय सहभागिता जनाउने सोच बनाएर जनताको सेवा गर्दै वडाको विकासमा योगदान गर्ने लक्ष्य रहेको बताउँछन् ।
उनि हारे पनि आफ्नो वडाको लागि योगदान जारी राख्ने बताउँदै अन्त्यमा भन्छन्, “हार–जितले मेरो सेवाभाव रोक्दैन। म कुनै न कुनै रूपमा आफ्नो वडाको हितमा काम गर्न प्रतिबद्ध छु।”

















