मकवानपुर । आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको वडा नं. २ को वडा अध्यक्ष पदमा उम्मेदवारी दिएका नेकपा एकीकृत समाजवादी र कांग्रेस–एमालेका संयुक्त उम्मेदवारले उम्मेदवारी फिर्ता लिएपछि नेकपा माओवादी केन्द्रका वडा अध्यक्ष पदका उम्मेदवार जगत घर्तीमगर निर्विरोध निर्वाचित भएका छन् ।
यही मङ्सिर १६ गते हुने स्थानीय तह उप निर्वाचन अन्तरगत पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्ष र २ नम्बर वडाध्यक्षको पदमा उपनिर्वाचन हुँदैछ ।२ नम्बर वडाध्यक्ष पदमा नेकपा एकीकृत समाजवादीकी सुनिता बुढामगरले उम्मेदवारी दिएकी थिइन् । बुढामगरले माओवादी केन्द्रका उम्मेदवारलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएकी छन् ।
त्यस्तै वडाध्यक्ष पदमा कांग्रेस र एमालेका संयुक्त उम्मेदवार जीवन रोकाले पनि उम्मेदवारी फिर्ता लिएसँगै माओवादी केन्द्रका जगत घर्तीमगर निर्विरोध निर्वाचित भएका हुन् । अब पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्ष पदको लागि चुनाव हुने भएको छ ।

















