मकवानपुर । हेटौंडा उपमहानगरपालिका–११ थानाभर्याङस्थित महेन्द्र राजमार्गमा म्याजिकले मोटरसाइकललाई ठक्कर दिँदा एक जना गम्भीर घाइते भएका छन्।
सोमबार बिहान ११ः१० बजे हेटौंडा बजारबाट नवलपुरतर्फ जाँदै गरेको प्र.३–०३–००१ ज.०००१ नम्बरको म्याजिकले विपरीत दिशाबाट आउँदै गरेको ना.४३ प.७५५१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार दुर्घटनामा मोटरसाइकल चालक हेटौंडा–३ निवासी ३४ वर्षीय आशिष पाठक घाइते भएका छन्।
उनको टाउको, अनुहार, दुवै हातखुट्टा तथा छातीमा भित्री चोट लागेको प्रहरीले जनाएको छ। उनलाई उपचारका लागि हेटौंडा अस्पताल लगिएकोमा तत्काल अवस्था गम्भीर रहेको बताइएको छ।
दुर्घटनापछि दुवै सवारीसाधन र म्याजिक चालक हेटौंडा–३ बसामाडी निवासी ५० वर्षीय लक्ष्मण बर्तौलालाई जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरको नियन्त्रणमा राखिएको छ। घटनास्थलमा प्रहरी चौकी थानाभर्याङबाट ट्राफिक प्रहरीसहितको टोली खटिएको थियो।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।














