मकवानपुर । मकवानपुर प्रहरीले ३८ ग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित तीन जनालाई पक्राउ गरेको छ।
विशेष सूचनाका आधारमा शनिबार दिउँसो करिब ४ः४५ बजे जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा मातहतका कार्यालयबाट खटिएको संयुक्त प्रहरी टोलीले हेटौंडा उपमहानगरपालिका–१५, नयाँबस्तीस्थित पूर्व–पश्चिम सडकखण्डमा चेकजाँच गरेको थियो।
चुरियामाईबाट हेटौंडातर्फ आउँदै गरेको बा.प्र.०३–००३ प ७८१२ नम्बरको मोटरसाइकल रोकी खानतलासी गर्दा प्रतिबन्धित लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ ३८ ग्राम फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। पक्राउ पर्नेमा मोटरसाइकल चालक हेटौंडा–१२ का २४ वर्षीय अभिषेक भ्लोन, मोटरसाइकलमा सवार मनहरी गाउँपालिका–३ डोढेका २४ वर्षीय आशिष घलान र सोही स्थानका २७ वर्षीय बिमल सुनार रहेका छन्।
प्रहरीले लागूऔषध तथा मोटरसाइकल बरामद गरी तीनै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको बताइएको छ।















