कैलाश । मकवानपुरको कैलाश गाउँपालिकाले २० वर्षमुनिका किशोरी सुत्केरी हुने अवस्था र घरमै हुने प्रसूति (होम डेलिभरी) न्यूनीकरणलाई प्राथमिकतामा राख्ने भएको छ। गाउँपालिकाको आव २०८२/८३ को पालिकास्तरीय स्वास्थ्य कार्यक्रमको दुईदिने वार्षिक समीक्षा कार्यक्रममा स्वास्थ्य सेवाको पहुँच र गुणस्तर सुधारसँगै यी विषयलाई प्राथमिकता दिने प्रतिबद्धता जनाइएको हो।
गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले कैलाशको स्वास्थ्य क्षेत्रमा देखिएको प्रमुख चुनौतीमध्ये २० वर्षमुनिका किशोरी सुत्केरी हुने समस्या रहेको बताए। गाउँपालिका, समुदाय, विद्यालय तथा सामाजिक संघसंस्थाको निरन्तर प्रयास भए पनि अपेक्षित रूपमा सुधार हुन नसकेको उनले बताए।
‘२० वर्षमुनिका किशोरी सुत्केरी हुने अवस्थालाई अन्त्य गर्न सबै पक्षको साझा प्रयास आवश्यक छ,’ उनले भने, ‘विद्यालयदेखि समुदायसम्म सचेतना अभियानलाई अझ प्रभावकारी बनाउनुपर्छ।’ गाउँपालिकाले होम डेलिभरीलाई शून्यमा झार्ने लक्ष्य लिएको छ। कैलाश–९ लाई शून्य होम डेलिभरी भएको वडा घोषणा गर्ने तयारी अन्तिम चरणमा पुगेको अध्यक्ष मुक्तानले बताए। अन्य वडालाई पनि क्रमशः शून्य होम डेलिभरीतर्फ लैजाने योजना रहेको उनले जानकारी दिए।
भौगोलिक रूपमा विकट गाउँपालिकामा सबै स्वास्थ्य संस्थामा तत्कालै बर्थिङ सेन्टर सञ्चालन गर्न कठिनाइ रहेको उनले बताए। यातायातको असहजता, दुर्गम बस्ती तथा आवश्यक जनशक्ति र पूर्वाधारको अभावका बाबजुद स्वास्थ्यकर्मीको प्रयासले स्वास्थ्य सेवामा सुधार भइरहेको उनको भनाइ छ।
गाउँपालिका उपाध्यक्ष बालकुमार मल्लले वार्षिक समीक्षा कार्यक्रमले वर्षभरि भएका कामको मूल्यांकनसँगै अनुभव आदानप्रदान गर्ने अवसर दिएको बताए। स्वास्थ्य सेवाको तथ्यांक र रिपोर्टिङलाई अझ व्यवस्थित र यथार्थपरक बनाउन स्वास्थ्यकर्मीले ध्यान दिनुपर्ने उनले बताए।
जनस्वास्थ्य कार्यालय मकवानपुरका कोल्डचेन निरीक्षक मनीर आलम अन्सारीको उपस्थितिमा भएको कार्यक्रममा स्वास्थ्य संस्थाले वर्षभरि गरेका काम, सेवा प्रवाह, स्वास्थ्य सूचक, मातृ तथा बाल स्वास्थ्य, परिवार नियोजन, खोप, पोषण, सुरक्षित मातृत्व र समुदायस्तरीय स्वास्थ्य कार्यक्रमको उपलब्धि तथा चुनौतीबारे छलफल गरिएको थियो।
गाउँपालिका स्वास्थ्य शाखा प्रमुख तिलकप्रसाद गौतमका अनुसार आगामी वर्ष मातृ तथा नवजात शिशु स्वास्थ्यलाई प्राथमिकता दिँदै किशोरी गर्भधारण न्यूनीकरण, संस्थागत प्रसूति वृद्धि, होम डेलिभरी अन्त्य तथा स्वास्थ्यसम्बन्धी तथ्यांक र रिपोर्टिङ प्रणालीलाई विश्वसनीय बनाउने योजना छ।
स्वास्थ्य शाखाका अनुसार समीक्षा अवधिमा कैलाशका स्वास्थ्य संस्थामा १६२ जनाले सुत्केरी सेवा लिएका छन् भने ७२ जनाको घरमै प्रसूति भएको छ। यस अवधिमा एक नवजात शिशुको मृत्यु भएको तथ्यांक छ। २० वर्षमुनिका सुत्केरी आमाको संख्या १११ रहेको शाखाले जनाएको छ।
कम उमेरमा हुने विवाह तथा गर्भधारणका कारण किशोरी अवस्थामै मातृत्वको जिम्मेवारीमा पुग्ने अवस्था अझै चुनौतीका रूपमा रहेको शाखा प्रमुख गौतमले बताए। सुरक्षित मातृत्वका लागि स्वास्थ्य संस्थामै प्रसूति गराउने वातावरण निर्माणसँगै स्वास्थ्य सेवाको पहुँच विस्तार र समुदायस्तरमा जनचेतना बढाउनुपर्ने उनले बताए।














