हेटौंडामा ईभीको ठक्करबाट पैदलयात्रीको मृत्यु

हेटौंडा । हेटौंडामा विद्युतीय सवारी (ईभी)को ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। हेटौंडा उपमहानगरपालिका–११ थानाभर्‍याङस्थित बुद्ध पार्कअगाडि महेन्द्र राजमार्गमा मंगलबार राति करिब ९ः५० बजे नारायणगढबाट हेटौंडातर्फ आउँदै गरेको बा.प्र.०६–००१ ज.०३२९ नम्बरको खाली ईभीले पैदल हिँडिरहेका वीरगन्ज महानगरपालिका–३२ का करिब ५० वर्षीय वीरेन्द्र पासवानलाई ठक्कर दिएको थियो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार दुर्घटनामा गम्भीर घाइते पासवानलाई तत्काल थानाभर्‍याङस्थित प्रहरी र ट्राफिक प्रहरीको टोलीले उद्धार गरी हेटौंडा अस्पताल पुर्‍याएको थियो। उनको टाउकोलगायत शरीरका विभिन्न भागमा चोट लागेको थियो।

हेटौंडा अस्पतालमा उपचाररत पासवानलाई थप उपचारका लागि बुधबार बिहान १२:०५ बजे वीरगन्जस्थित वयोधा अस्पताल रिफर गरिएको थियो। उपचारकै क्रममा बिहान १ः४५ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा संलग्न ईभी र चालक राक्सिराङ गाउँपालिका–७ का ३३ वर्षीय बुद्धिलाल थिङलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.