हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१ राप्तिरोडमा रोकिराखेको ट्रकमा अटो ठोक्किँदा तीन जना घाइते भएका छन् ।
सोमबार बिहान करिब ४ः१५ बजे पूर्व–पश्चिम सडकखण्डमा नारायणगढबाट काठमाडौं जाँदै गरेको ना १ क ३२५३ नम्बरको चल्ला बोकेको ट्रक सडक छेउमा रोकिराखेको अवस्थामा थानाभर्याङबाट तरकारी बजारतर्फ आउँदै गरेको ना २ ह २८८९ नम्बरको अटो पछाडिबाट ठोक्किएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
दुर्घटनामा अटो चालक हेटौंडा–३ लेवटका ४६ वर्षीय रमेश बर्तौला, उनकी श्रीमती ४४ वर्षीया सुमित्रा बर्तौला र सोही ठाउँका ४२ वर्षीय दिलबहादुर थापा घाइते भएका छन् ।रमेशको टाउको र बायाँ घुँडामा चोट लागेको छ ।
सुमित्राको निधार र दुवै हातमा तथा दिलबहादुरको टाउको, मुख, दुवै हात र बायाँ खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ । तीनै जनालाई उपचारका लागी हेटौंडा अस्पतालमा ल्याइएको थियो। उनीहरूको अवस्था मध्यम रहेको छ ।
अटो चालक रमेशले मादक पदार्थ सेवन नगरेको र सवारी चालक अनुमतिपत्र रहेको प्रहरीको भनाई छ। दुर्घटनापछि दुवै सवारीसाधनमा क्षति पुगेको छ ।
ट्रक चालक चितवनको भरतपुर महानगरपालिका–१३ का ४५ वर्षीय राम प्रजा र दुवै सवारीसाधन प्रहरी नियन्त्रणमा छन् ।














