हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ देउरालीस्थित भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डमा स्कुटर दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।
आइतबार अपराह्न अन्दाजी ०४ः०० बजे हेटौंडाबाट काठमाडौं जाँदै गरेको बा.प्र.०३–००२ प ५६६० नम्बरको स्कुटर टर्निङमा अनियन्त्रित भई सडकमा पल्टिँदा चालक मनहरी गाउँपालिका–७ का करिब ३६ वर्षीय इन्द्रलाल बम्जन र पछाडि सवार उनकी ६३ वर्षीया आमा विष्णुमाया बम्जन घाइते भएका हुन्।
दुर्घटनामा इन्द्रलालको दाहिने खुट्टामा चोट लागेको छ भने विष्णुमायाको टाउको, पेट र ढाडमा चोट लागेको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ। घाइते दुवैलाई उपचारका लागि चितवनस्थित पुरानो मेडिकल कलेज लगिएकोमा हाल अवस्था मध्यम रहेको बताइएको छ।
प्रहरीका अनुसार स्कुटर चालकसँग सवारी चालक अनुमतिपत्र भएको र मादक पदार्थ सेवन नगरेको पाइएको छ। दुर्घटनामा परेको स्कुटर चालकले आफ्नै घरमा लगेर राखेको जनाइएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।














