मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेतमा भएको सरकारी स्कर्पियो दुर्घटनामा घाइते उच्च अदालत जनकपुर, वीरगन्ज इजलासका रजिष्ट्रार तारादत्त बडु र चालक छुनिलाल चौधरीलाई पनि थप उपचारका लागि काठमाडौं लगिएको छ ।
हेटौँडा अस्पतालमा उपचारत उनीहरूलाई पनि काठमाडौंस्थित सैनिक अस्पताल छाउनी लगिएको हो । यसअघि दुर्घटनामा घाइते प्रमुख न्यायाधीश गोकर्ण डाँगीसहित चार जनालाई पनि हेलिकोप्टरमार्फत काठमाडौं लगिएको थियो ।
मंगलबार बिहान काठमाडौंँबाट हेटौंडातर्फ आउँदै गरेको प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको सरकारी स्कर्पियो भीमफेदी–६ जुरीखेतमा दुर्घटनामा परेको थियो । दुर्घटनामा उच्च अदालत जनकपुर, वीरगन्ज इजलासका प्रमुख न्यायाधीश गोकर्ण डाँगी, रजिष्ट्रार तारादत्त बडु, लक्ष्मी बडु, रिता बडु, रितेन्द्र बडु र चालक छुनिलाल चौधरी घाइते भएका थिए ।
दुर्घटनामा गम्भीर घाइते भएकी रजिष्ट्रार बडुकी श्रीमती लक्ष्मी बडुको उपचारका क्रममा काठमाडौंस्थित सैनिक अस्पताल छाउनीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । ४९ वर्षीया बडुको बिहान १० बजेर २९ मिनेटमा उपचारका क्रममा मृत्यु भएको हो ।
प्रहरीका अनुसार, दुर्घटनापछि सुरुमा रजिष्ट्रार बडु र चालक चौधरीलाई उपचारका लागि हेटौंडा ल्याइएको थियो । पछिल्लो स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै उनीहरूलाई थप उपचारका लागि काठमाडौं पठाइएको हो । दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।













