हेटौंडा । हेटौंडा उपमहानगरपालिका–११ थानाभर्याङस्थित यातायात व्यवस्था कार्यालय नजिकै एक पुरुष मृत अवस्थामा फेला परेका छन्।
मृतक मकवानपुर साबिक चित्लाङ गाविस–६, हाल थाहा नगरपालिका–१० का रामबहादुर गोपालीका छोरा ४१ वर्षीय आश्मान गोपाली रहेको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।
प्रहरीका अनुसार आइतबार बिहान करिब ६:१५ बजे अन्दाजी ३०–३५ वर्षीय एक पुरुष मृत अवस्थामा रहेको सूचना प्रहरी कन्ट्रोल कक्षमा प्राप्त भएको थियो। सूचना लगत्तै प्रहरी निरीक्षक उमाशंकर प्रसादको कमाण्डमा टोली घटनास्थलतर्फ खटिएको थियो।
घटनास्थल वरपर रगत देखिएपछि घटनालाई शंकास्पद मान्दै थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। अनुसन्धानका क्रममा मृतकको पहिचान पुष्टि भएको हो।
मृतकका परिवारलाई घटनाबारे जानकारी गराइसकिएको छ। यसैबीच, बिहान करिब ८:३० बजे बागमती प्रदेश प्रहरी कार्यालयको केनाइन शाखाबाट ट्रयाकर कुकुरसहितको टोली घटनास्थलमा पुगेर अनुसन्धानमा खटिएको छ।
घटनाको कारण खुल्न बाँकी रहेको र अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।













