हेटौंडा । वडा प्रदेश प्रहरी कार्यालय, हेटौंडाबाट खटिएको प्रहरी टोलीले जेन्जी आन्दोलनका क्रममा फरार रहेका एक कैदीलाई नियन्त्रणमा लिएको छ।
रौतहट कारागारबाट फरार रहेका मुद्रा सम्बन्धी कसुर तथा संगठित अपराधसम्बन्धी मुद्दाका कैदी रौतहटको मौलापुर नगरपालिका–७ का ३४ वर्षीय शैलेन्द्र कुमार साहलाई हेटौंडा बजार क्षेत्रमा लुकीछिपी बसिरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले खोजतलास गरेको थियो।
सोही क्रममा मकवानपुरको हेटौंडा उपमहानगरपालिका–४, कर्रा चोकस्थित सडकमा पैदल हिँडिरहेको अवस्थामा उनलाई फेला पारी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।
नियन्त्रणपछि सोधपुछ गर्दा उनको परिचय तथा विवरण पुष्टि भएको प्रहरीले जनाएको छ। नियन्त्रणमा लिइएका साहलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, मकवानपुरमा राखिएको छ।
प्रतिकृया दिनुहोस्














