हेटौंडा। मकवानपुरको बागमती गाउँपालिका–३ ठुलो देउजोरस्थित सामुदायिक वन क्षेत्रमा बेवारिसे अवस्थामा एक थान भरुवा बन्दुक फेला परेको छ।
शुक्रबार दिउँसो करिब १ बजेको समयमा सुर्य किरण सामुदायिक वनको बीच भागमा भरुवा बन्दुक रहेको भन्ने सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय फापरबारीबाट खटिएको प्रहरी टोलीले उक्त बन्दुक नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार एक नाले भरुवा बन्दुक हाल प्रयोगयोग्य अवस्थामा रहेको जस्तो देखिए पनि त्यसमा बारुद भने फेला परेको छैन। बरामद गरिएको बन्दुकलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी इलाका प्रहरी कार्यालय फापरबारीमा राखिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिकृया दिनुहोस्















